सहकारी ठगीमा प्रचण्डकै विश्वासपात्र मन्त्री बस्नेत पनि मुछिए, रवि-जिबी-डिपीहरूकाे एउटै काण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासपात्र मानिने मन्त्री बस्नेतले मन्त्री बन्न पाउने निकै पटक अवसर पाएका छन् । उनीकी पत्नी पनि पटक पटक मन्त्री बनेर अबसर लिएकी छिन् ।

मन्त्री बस्नेतले यो सहकारीबाट २०७१–७२ तिरै बाहिरिएको बताएका छन् । माओवादी नेता समेत रहेका मन्त्री बस्नेत नै सहकारीको रकम ठगी प्रकरणमा मुछिएपछि प्रधानमन्त्री दाहाललाई झन् तनाब र दवाव बढेको छ । एकपछि अर्को गर्दै मन्त्रीहरू धमाधम सहकारीको रकम ठगी प्रकरणमा परेका छन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) परेका बेला मन्त्री बस्नेत पनि अछुतो रहेनन् ।

काठमाडौंमा रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हुन् । संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । निक्षेपकर्ताको चार करोड रकम फिर्ता नगरेपछि सहकारी विभागको सिफारिसमा माघ १२ गते सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारीको रकम ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले समेत अनुसन्धान गरिरहेको छ ।

माओवादीका नेता तथा उर्जामन्त्री बस्नेत ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को संस्थापक अध्यक्ष रहेको तथ्याङ्कले देखाएको छ । बस्नेतपछि उनकी पत्नी सत्य पहाडी र साला पर्ने सूर्यबहादुर गुरुङ सहकारीको अध्यक्ष बनेको प्रमाणहरूले देखाएको छ ।

सूर्यबहादुर गुरुङपछि गितेन्द्रबाबु राई सहकारीको अध्यक्ष भएका हुन् ।
श्रममन्त्री अर्याल पनि यो सहकारी संस्थाको पूर्वउपाध्यक्ष हुन् । गुरुङ अध्यक्ष उनी उपाध्यक्ष थिए । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी सञ्चालक थिए ।

सहकारी विभागले सहकारी संस्थाको हिनामिनाको अनुसन्धान गर्न असोज २५ गते सीआइबीलाई पत्राचार गरेको थियो ।

सहकारीको रकम ठगी प्रकरणमा बहालवाला मन्त्रीहरू नै मुछिएपछि सीआइबीलाई अनुसन्धान अगाडि बढाउन निकै समस्या परेको छ ।

यो सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताएको भन्दै मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले छानविनको माग गरिसकेको छ ।

Published : Tuesday, 2024 April 2, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया