तरुण दलद्वारा ५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित, बेथितीहरूविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । नेपाल तरुण दलले पाँचौ महाधिवेशन आगामी २०८१ चैत मसान्तसम्म समपन्न गर्ने अध्यक्ष विद्वान गुरुङको प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

ललितपुरको कुपण्डोलमा चैतको १५ र १६ गते बसेको तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष गुरुङद्वारा पेस गरिएको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गुरुङको प्रस्तावमाथि ८७ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो विचार राखेका थिए । बैठकमा नेपाल तरुण दलको पाचौं राष्ट्रिय महाधिवेशन तयारी सम्वन्धी विशेष छलफल भएको थियो ।

बैठकपछि शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल तरुण दलको पाँचौ महाधिवेशन आगामी २०८१ चैत मसान्त सम्म समपन्न गर्न केन्द्रीय कार्यसमितिको यस बैठक तपाशिल बमोजिम गर्ने गरी निणर्य गर्दछ ।’

‘नेपाल तरुण दलको विधान संसोधन गर्न यस बैठक ५ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गर्ने निणर्य गर्दछ ।’
‘आगामी २०८१ जेठ २० गतेभित्र विधानको संशोधन मस्यौदा दलका अध्यक्षज्यूलाई बुझाउनु पर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस विधान संशोधन मस्यौदा समितिको सदस्य सचिव दलको केन्द्रीय कार्यालयका मुख्य सचिव रहने निणर्य गरिन्छ ।’

यसरी विधान संशोधन मस्यौदा समितिले तयार पारी बुझाएको विधानको संशोधन मस्यौदालाई दलको केन्द्रीय कार्यसमितिको २०८१ साल जेठको २७ र २८ गते बस्ने बैठकमा निर्णयार्थ पेश गरिनेछ । विधान संशोधन मस्यौदा समिति अध्यक्ष गुरुङले आन्तरिक परामर्शपछि गठन गर्नेछन् ।

‘नेपाल तरुण दलको संगठन देशका सबै राज्य संरचनाहरूसम्म पुगेको हुँदा दलका संगठनका सबै संरचनाहरूलाई राजनैतिक रुपले चलयमान र शशक्त बनाई आगामी पाँचौ महाधिवेशन सभ्य र भव्य रुपले सम्पन्न गर्न ७७ वटै जिल्लाहरूमा दलका केन्द्रीय सदस्यज्यूहरूलाई केन्द्रीय प्रतिनिधिको रूपमा पठाउने यस बैठक निणर्य गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘केन्द्रीय प्रतिनिधिको रुपमा खटिएर जानुभएका केन्द्रीय सदस्यज्यूहरूले जिल्लामा दलको सांगठनिक अवस्था, गर्नुपर्ने सकारात्मक कार्यहरूको सुझाव, विधान संशोधन मस्यौदामा समावेस गर्नुपर्ने जिल्लाको राय लगायत सांगठनिक र राजनीतिक विषयहरूका बारेमा प्रतिवेदन आगामी २०८० साल जेठ १० गतेभित्र दलको केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने छ’, तरुण दलका अध्यक्ष गुरुङले जनाएका छन् ।

यसरी केन्द्रीय प्रतिनिधिहरूबाट प्रतिवेदनमा आएका महत्वपूर्ण विषयहरूको अध्ययन गरी २०८० साल जेठ २७ र २८ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तावको रुपमा लागि छलफल गराइनेछ ।

पाचौं महाधिवेशनकै तयारीलाई अझ प्रभावकारी र जनचासोको रुपमा अगाडि बढाउन वर्षायाममा हुने बाढि, पहिरो र डुवान प्रभावित क्षेत्रहरूमा मानवीय सेवा र उद्धारका लागि तरुण स्वयमसेवक परिचालन र तरुणहरूलाई किसानसँग जोड्न र संगठन विस्तारका लागि कृषि श्रमदान अभियान सञ्चालन गर्ने निर्णय पनि तरुण दलले गरेको छ ।

अभियानसंगै देशभर तरुण दलको सदस्यता वितरण सुरु गरी २०८१ साउन मसान्तभित्र दलको पूर्णकालीन सदस्यता फाराम सबै जिल्ला समितिलाई पठाइ सकिने विज्ञप्तिमा उल्लेख छ ।

भदौ मसान्तभित्र उक्त पूर्णकालीन सदस्यता फाराम स्वीकृतिका लागि जिल्ला समितिबाट केन्द्रमा पठाइ सक्नुपर्ने तरुण दलले निर्णय गरेको छ ।

२०८१ साल असोज मसान्तभित्र देशभरका ६७४३ वडामा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि तरुण दलले गरेको छ ।

२०८१ साल मंसिर मसान्तभित्र ७५३ वटै पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष गुरुङले बताएका छन् ।

२०८१ साल पुस मसान्तभित्र १६५वटै संघीय निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

‘२०८१ साल माघ मसान्तभित्र ७७वटै जिल्ला अधिवेशन सम्पन्न गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसको नेतृत्वसँग परामर्श र राय सल्लाहका आधारमा नेपाल तरुण दलको ७ वटै प्रदेशको प्रदेश अधिवेशन र दलको पाँचौ महाधिवेशन २०८१ साल चैत मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलले भनेको छ, ‘देशमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र प्रशासनिक क्षेत्रहरूमा देखिएको विकृति, विसंगती र बेथितीहरूको विस्तृत अध्ययन र छलफल गरी त्यस प्रकारका गतिविधिहरूप्रति तरुण दलको स्पष्ट धारणा बनाई जनचेतनामुलक र विरोधका कार्यक्रमहरू सुरू गर्ने निणर्य यस बैठक गर्दछ ।’

Published : Saturday, 2024 March 30, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया