केपी ओली जोडिएका यी काण्डहरूमा अनुसन्धान हुन्छ ? भनेपछि गृहमन्त्री लामिछाने बोल्नै सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले एमालेका अध्यक्ष केपी ओली मुछिएको झापास्थित गिरीबन्धु टी स्टेटको छानबिन के भइरहेको छ ? भनेर प्रश्न उठाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणका बारेमा प्रश्न गरेका हुन् ।

थानीले गिरीबन्धु टी प्रकरणमा छानबिन गर्न सक्नु हुन्छ कि हुँदैन ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरे ।

‘गठबन्धनमा हुनुहुन्छ, मलाई थाहा छ । चर्चित घटनाक्रम छन्’, थानीले भने, ‘मैले कसैलाई केही भन्न खोज्या छैन । गिरीबन्धु टी स्टेट चर्चित भ्रष्टाचारको रुपमा छ ।’

उनले भने, ‘यो पनि जनताले प्रश्न चिन्ह लगाएका छन् । हो, होइन छानबिनपछि थाहा होला । तर, तपाईं यसमा हात हाल्न सक्नु हुन्छ कि हुँदैन ।’

‘तपाईंको जजमेन्ट मात्रै होइन, २०८४ को मिसन मात्रै होइन, तपाईंको मिसनमा कटराव हुने देखिन्छ’, सांसद थानीले भने, ‘गिरीबन्धु टी स्टेटमा के गर्दै हुनुहुन्छ ?’

गठबन्धनले सबै कालखण्डका भ्रष्टाचारको छानबिन गर्ने बताएको भन्दै सांसद थानीले सबै कालखण्ड भनेका को– को हुन् भनी प्रश्न गरेका छन् ।

‘गठबन्धनले सबै कालखण्डका भ्रष्टाचारको छानबिन गर्ने भन्नेछ’, थानीले भने, ‘तपाईं फेलामा पर्नु भएको छ । सबै कालखण्ड भनेका के– के हुन् । मत सबै बुझ्दिन ।’

‘अब सुन काण्ड भनेर व्यापाक छ । सचिवालय पनि मुछियो भन्नेछ’, उनले भने, ‘कसैको सचिवालय नै सुनकाण्डमा मुछिएपछि यो मुलुकको अवस्था के छ ।’

‘तपाई धेरै बुझ्ने मान्छे हो, कतिको बुझ्नु भएको छ । थाहा छैन’, उनले भने, ‘सचिवालय नै गइसकेपछि यो मुलुकमा को–को छन् ।’

कांग्रेसका सांसद थानीले क्यान्टोनमेन्ट, ललिता निवास, वाइडबडी, यति, ओम्नी प्रकरणलगायत भ्रष्टाचारको छानबिन गर्न गृहमन्त्री लामिछानेको तयारी के छ ? भन्दै प्रश्न गरेका छन् ।

सांसद थानीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या घटनाको छानबिन नभएको भन्दै आपत्ति जनाएका छन् ।

‘तपाईं पहिलो पटक गृहमन्त्री भएर मन्त्रालयमा आउँदा निर्मला पन्त हत्या घटनाको छानबिन गर्छु भनेर पहिलो निर्णय सार्वजनिक गर्नु भएको थियो’, सांसद थानीले भने, ‘तपाईं केही दिनमै निस्कनु भयो । फेरि आउनु भएको छ ।’

उनले भने, ‘के साँच्चिकै तपाईं आफैले गरेको पहिलो निर्णयको छानबिन गर्नुहुन्छ ?’

निर्मला पन्तको विषयमा छानविन गर्ने बताए पनि गृहमन्त्री लामिछानेले कांग्रेसका सांसद थानीका प्रश्नहरूको जवाफ दिएनन् ।

सांसद थानीले उठाएका काण्ड र प्रकणमा एमालेका अध्यक्ष केपी ओली मुछिएका छन् । ओली मुछिएका काण्डमा लामिछानेले जवाफ दिन नसकेपछि समितिको बैठकमा मुखामुख भएको थियो ।

Published : Thursday, 2024 March 28, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया