आइजीपी कुँवरले गृहमन्त्री लामिछानेसामु लगलग खुट्टा कमाए, सहकारी प्रकरणमा बचाउ

काठमाडौैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले सहकारीको रकम अपचलन भएको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइजीपी कुँवरले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको विषयमा पोखरामा ठाडो उजुरी आएको तर, तथ्य र प्रमाण नभएको बताए ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारीको करोडौं रकम अपचलन गरेको भनेर गृहमन्त्री लामिछानेबारे छानविन गर्न संसदीय समितिको माग गरिरहेका बेला आइजीपी कुँवरले लामिछानेविरुद्ध कुनै पनि प्रमाण नरहेको बताएका हुन् ।

कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर, तथ्य र प्रमाण नरहेको जनाए । ठाडो उजुरीमा नाम रहेकाहरू कानूनी दायरामा पर्ने अवस्था नरहेको उनले बताएका छन् ।

‘ठाडो उजुरीको रूपमा कानूनी दायरमा पार्ने अवस्था छैन’, आइजीपी कुँवरले भने, ‘सांकेतिक रूपमा आएको छ, रवि लामिछानेको नाममा त्यसमा कुनै तथ्य, प्रमाण आएको छैन ।’

महानिरीक्षक कुँवरले सहकारीको समस्या व्यापक भएको पनि बताएका छन् । सहकारीका कारण कतिपयको आर्थिक अवस्थामा समस्या आएको कुँवरले बताएका छन् ।

उनले सहकारी समस्या समाधान गर्नका लागि माथिल्लो तहबाट नै नीतिगत रूपमा विभिन्न काम भएको बताए ।

उनले पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)लाई पक्राउ गर्न प्रयत्न भए पनि सफल हुन नसकेको बताए ।

आइजीपी कुँवरले जीबी राई मलेसियामा रहेको र उक्त देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको बताएका छन् ।

आइजीपी कुँवरले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेको जानकारी दिए । ‘सूर्यदर्शन ठगीमा ५ जना पक्राउ परेका छन् १५ जना फरार रहेका छन्’, कुँवरले भने ।

आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउ गरेर पीडितहरूलाई चिड्याएका छन् । सहकारी प्रकणमा गृहमन्त्री लामिछानेसामु आइजीपी कुँवर डराएर लगलग भएको चर्चा भएको छ ।

Published : Wednesday, 2024 March 27, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया