सभापति देउवा र अध्यक्ष भट्टराईबीच भेटवार्ता, गण्डकी सरकार बचाउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईबीच गण्डकी प्रदेश सरकारका विषयमा छलफल भएको छ ।

बुधबार बिहान बुढानिलकण्ठमा गण्डकी प्रदेश सरकारका विषयमा छलफल भएको बुझिएको छ । देउवा र भट्टराईबीच गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई टिकाउने विषयमा सहमति बनेको छ ।

गण्डकीमा कांग्रेसका २७ प्रदेश सभा सदस्य छन् । राप्रपाका २, एकीकृत समाजवादीबाट बाहिरिएर स्वतन्त्र हैसियत मगेका दीपक मनाङे र माओवादी केन्द्रबाट चुनाव चिन्हमा जितेका नेसपाका फणिन्द्र देवकोटाको समर्थनमा बहुमत जुटाउन मुख्यमन्त्री पाण्डे प्रयासरत छन् ।
कांग्रेस नेतृत्वको गण्डकी प्रदेशको सरकारलाई समर्थन गर्ने सन्दर्भमा अध्यक्ष भट्टराईले सभापति देउवालाई सकारात्मक जवाफ दिएका छन् ।
मुख्यमन्त्री पाण्डेलाई राजिव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले साथ दिने देखिएका छन् । गण्डकी प्रदेश सरकारको सत्ता समीकरणमा निर्णायक शक्ति राप्रपाले मुख खोलेको छैन ।

राप्रपाको साथ पाउने अवस्था बने विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी छ । चैत २२ गतेसम्म मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

गण्डकी प्रदेश सभामा एमालेका २२ र माओवादी केन्द्रका (सभामुख र देवकोटा) बाहेक ६ र राप्रपाका २ गरी ३० सांसद मात्र हुन्छ । ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

संविधानको धारा १८६ को उपधारा २ अनुसार सरकार बन्न नसके प्रदेशसभाको पहिलो दलको हैसियतमा कांग्रेस नेतृत्वको सरकार बन्छ ।

सभापति देउवा र अध्यक्ष भट्टराईबीच भएको भेटवार्ताका क्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित रहेका थिए ।

Published : Wednesday, 2024 March 27, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया