ओलीले प्रचण्ड–नेपाललाई पेलेर जाने स्टेप उठाए

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले कम्युनिस्टहरूको नयाँ गठबन्धन बनेको एक महिना नपुग्दै आफूलाई कठोर बनाउँदै लगेका छन् ।

ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पेलेर लैजाने संकेत गरेका छन् । ओलीका पछिल्ला गतिविधिले गठबन्धनभित्र रहेका प्रमुख ठूला दलहरूसँग परामर्शहरू भएका छैनन् ।

ओलीले इलाम र बझाङमा हुन लागेका उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारहरू बनाउन टिकट दिइसकेका छन् । गठबन्धनभित्रका माओवादी र एकीकृत समाजवादीसँग सल्लाह नै नगरेर ओलीले एमालेको सचिवालय बैठकबाट टिकट दिएपछि तरङ्ग उत्पन्न भएको छ ।

ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई इलाम २ को उपनिर्वाचनमा नयाँ गठबन्धनका तर्फबाट टिकट दिने आश्वासन दिएका थिए । खनाललाई ओलीले कुनै मतलव गरेका छैनन् । बुझाङमा पनि प्रदेशतर्फको उपनिर्वाचनमा एमालेका उम्मेदवार ओलीले बनाएका छन् ।

ओलीको यो कार्य र शैलीबाट प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल झस्किएका छन् । ओली र दाहालसँगको मंगलबारको बैठकमा नेपालले उपनिर्वाचनको टिकट एउटा क्षेत्रमा आफूहरूलाई नदिए दुबै क्षेत्रमा उम्मेदवार उठाउने चेतावनी दिएका थिए ।

उता, प्रदेश सरकारमा पनि ओलीले पेलेर लिन थालेका छन् । ओली, दाहाल र नेपालबीच कर्णाली प्रदेश सरकारबाहेक अन्य सबै प्रदेशमा मोटामोटी भागबण्डा मिलेको छ ।

कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले दाबी गरेको छ । कर्णालीमा एमालेले पनि दाबी गरेपछि विवाद भएको छ ।

प्रधानमन्त्री दाहाललाई कर्णाली प्रदेश सरकारबाट अडान नछाड्न पार्टीका नेताहरूको दवाव छ । कोशी, लुम्बिनी र गण्डकी एमालेले लिने विषयमा छलफल भएको छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा)को नेतृत्वमा सहमति जुटेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने विषयमा कुराकानी भएको छ । बामगती प्रदेशमा माओवादी केन्द्रले दाबी गरेको छ ।
कोशी प्रदेशमा नयाँ सरकार बन्ने सम्भावना निकै कम छ । कोशीमा मध्यावधीको सम्भावना पनि छ ।

Published : Tuesday, 2024 March 26, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया