अख्तियारमा सेटिङ्ग गरिसके भन्ने प्रदीपले चिनियाँ पक्षलाई लगाए दोष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर बयान दिएर हैरान बनेका नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चिनियाँहरूका कारण आफूले दुःख पाएको गुनासो गर्न लागेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घोटाला, अनियमितता र त्रुटिका विषयमा महानिर्देशक अधिकारीसँग अख्तियारले बयान लिएको छ । नक्सालस्थित अख्तियारको कार्यालयमा पुगेर पोखरा विमानस्थलको घोटालाबारे महानिर्देशक अधिकारीले बयान दिएको स्रोतले जनाएको छ ।

बयान दिएर हैरान भएका महानिर्देशक अधिकारीले अख्तियारबाट ‘सफाई पाउनेमा ढुक्क छु’ भनेर भन्ने गरेका छन् । महानिर्देशक अधिकारीले अख्तियारमा सेटिङ्ग गरेर मिलाएको निकटका साथीहरूसँग बताउने गरेको बुझिएको छ । उनले अख्तियारमा मागेजति बुझाएर सेटिङ्ग मिलाएको भन्ने गरेको प्राधिकरणभित्र चर्चा छ ।

पोखरा विमानस्थलमा भएको समस्या, त्रुटि, घोटाला, भ्रष्टाचार लगायतका धेरैजसो दोष चिनियाँ पक्षलाई लाएको स्रोतले जनाएको छ ।

अख्तियारले पोखरा विमास्थलका सबै फाइलहरू कब्जा गरेर अनियमितताका बारेमा अनुसन्धान र छानविन गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा अधिकारी तत्कालीन समयमा आयोजना प्रमुख थिए ।

Published : Tuesday, 2024 March 26, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया