नयाँ गठबन्धन बनेपछि पहिलो पटक ओलीले प्रचण्ड–नेपाललाई पेलेर निर्णय गरे, बालुवाटारमा भनाभन

काठमाडौं । उपनिर्वाचनलाई लिएर सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच छलफल भएको छ ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच उपनिर्वाचनमा कसरी जाने भनेर छलफल भएको हो । अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीलाई उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)लाई इलाम वा बझाङमध्ये एक सिट दिन माग गरेका छन् ।

दाहाल र ओलीले ठोस जवाफ नदिएपछि अध्यक्ष नेपालले इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा उम्मेदवारी दिने चेतावनी दिएका छन् ।

एमालेले आइतबार इलाम– २ मा सुवास नेम्बाङका कान्छा छोरा सुहाङ नेम्वाङ र बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै भाग खोजेका हुन् । वैशाख १५ गते इलाम २ र बझाङको प्रदेश क्षेत्र नं. १ मा उपनिर्वाचन हुन लागेको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले भने, ‘तीन वटा अलग अलग पार्टी हुन्, अलग अलग ढंगले अगाडि बढ्छन् भन्ने कुरा आयो । त्यसै सिलसिलामा इलाम र बझाङको कुरा आयो ।’

‘हामी छुट्टै पार्टी हुनाले हामीले उम्मेदवार खडा गर्‍यौं भनेर एमालेको तर्फबाट भनियो’, नेपालले भने, ‘स्वाभाविक रूपमा हामी पनि छुट्टै पार्टी हुनाले कहाँ कहाँ उम्मेदवार खडा गर्ने हो, कसकसले हामीलाई साथ दिने हो, त्यसको आधारमा हामी अगाडि बढ्नेछौं ।’

तीन शीर्ष नेताहरूको बैठकमा अध्यक्ष नेपालले भाग खाजेपछि एमालेका अध्यक्ष ओलीले एमालेको तर्फबाट उम्मेदवार घोषणा भइसकेकाले ब्याक हुन नसक्ने जवाफ दिएका छन् ।

अध्यक्ष ओलीको जवाफपछि अध्यक्ष नेपालले एमाले आफ्नै ढङ्गले अघि बढिसकेकाले माओवादी केन्द्रसँग समझदारी हुनसक्ने संकेत गरेका छन् ।

नेपालले भने, ‘सोँचीरहेका छौँ । दुवै ठाउँमा उम्मेदवारी दिने कि ? अरुले पनि हामीलाई समर्थन गर्छन् भने त्यही समर्थनको आधारमा अघि बढ्ने हो कि ? तर, हामी दुवै ठाउँमा एक्लै उम्मेदवारी दिनुपर्ने हुनसक्छ भन्ने मानसिकताको साथ अघि बढिरहेका छौं ।’

‘एमालेको धारणा प्रस्ट आयो । माओवादी केन्द्रसँग समझदारी हुने सम्भावना देखिँदैछ’, नेपालले भने, ‘हामीले समाजवादी मोर्चामा पनि छलफल गरिरहेका छौं । यो कुरा छिट्टै टुंगो लाग्नेछ ।’

नेपालले भने, ‘हामी मानसिक रुपमा दुबै ठाउँमा उम्मेदवारी दिनुपर्छ भन्नेमा छौं । बझाङमा त दिन्छौं नै । त्यहाँ कसैले हामीलाई रोक्न सक्दैन ।’

Published : Monday, 2024 March 25, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया