गृहमन्त्रीको सचिवालयले भन्दा पनि काठमाडौं प्रहरीले महेश बस्नेतविरुद्धको जाहेरी दर्ता गरेन

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जानुका पाठक (शोभा)को जाहेरी लिन नमानेपछि हुलाकबाट पठाएकी छिन् ।

एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभाले प्रहरीमा पटक पटक जाहेरी दिन खोज्दा टेकु प्रहरीले जोहरी दर्ता गर्न अस्वीकार गरेको छ ।

शोभाले भनिन्, ‘मैले पटक पटक महेश बस्नेतबाट अन्यायमा परेको भनेर जाहेरी दिँदा समेत जिल्ला प्रहरी परिसर काठमाडौंले मेरो जाहेरी दर्ता गरेको छैन । बाध्य भएर न्यायका लागि हुलाकबाट जाहेरी पठाएको छु ।’

एमालेका नेता बस्नेतविरुद्धको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले नमानेपछि सोमबार गृह मन्त्रालयमा गएर शोभाले गुनासो गरेकी छिन् ।

शोभाले गृहमन्त्री रवि लामिछानेको सचिवालयका संयोजक दीपक बोहरालाई भेटेर आफ्नो जाहेरी काठमाडौं प्रहरी दर्ता गर्न नमानेको गुनासो गरेकी हुन् ।

शोभाको गुनासो सुनेपछि गृहमन्त्री लामिछानेको सचिवालयका संयोजक बोहराले काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) भुपेन्द्र खत्रीलाई फोन गरेर शोभाको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

त्यसपछि शोभा सोमबार नै जिल्ला प्रहरी परिसर टेकु पुगेर एसएसपी खत्रीलाई भेटेर जाहेरी दर्ता गराउन खोजे पनि एसएसपी खत्रीले शोभासँग भेट्न पनि अस्वीकार गरेको गुनासो उनले गरेकी छिन् ।

एसएसपी खत्रीले एकजना ईन्स्पेक्टरलाई पठाएर शोभासँग कुरा गर्न भने पनि जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् ।

यता, गृहमन्त्री लामिछानेको सचिवालयको संयोजक बोहराले शोभालाई फोन गरेर जाहेरी दर्ता भयो कि भएन ? भनेर फलो पनि गरेका छन् । गृहमन्त्री लामिछानेकै सचिवालयको अनुरोधलाई पनि काठमाडौं प्रहरीले अटेर गरेपछि गृह मन्त्रालयमा खैलाबैला भएको छ ।

कुनै उपाय नलागेपछि निरास भएर फिर्ता भएको शोभाले बताएकी छिन् । उनले काठमाडौंको प्रहरी प्रमुखले जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्नेमा अन्याय गरेको भन्दै गुनासो गरेकी छिन् ।

शोभाले एमालेका नेता बस्नेतबाट अन्याय भएको भन्दै यौन दुरव्यवहार, अभद्र व्यवहार लगायतका आरोपसहितको फाइल तयार पारेकी छिन् ।

Published : Monday, 2024 March 25, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया