राष्ट्रिय सभामा कांग्रेसको प्रमुख सचेतकमा रोकाय मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतक मनोनीत गरेको छ ।

सोमबार कांग्रेसले राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई प्रमुख सचेतकमा मनोनीत गरेको सभापति शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले बताएका छन् ।

राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्णप्रसाद सिटौला छन् । प्रमुख सचेतक पद रिक्त थियो ।

काे हुन् रोकाय ?

राष्ट्रिय सभामा कांग्रेसद्वारा प्रमुख सचेतकमा मनोनीत रोकाय रुकुम पश्चिम जिल्लाबाट निर्वाचित भएका हुन् ।

रोकाय नेपाल विद्यार्थी संघ (नेविसंघ) रुकुमका संस्थापक अध्यक्ष हुन् । नेपाली कांग्रेसको कर्णाली प्रदेश महामन्त्री समेत रहेका रोकायको राजनीतिक यात्रा बहुदल स्थापना भएपछि सुरु भएको हो ।

दुई कार्यकाल नेविसंघ रुकुमको अध्यक्ष भएका रोकाय २०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएका थिए ।

उनी कांग्रेसको १०औँ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, जिल्लाको पार्टी सचिव समेत बनेका थिए ।

माओवादीको आधार इलाका मानिने रुकुममा उनले दुई वटा संसदीय चुनावमा पनि भाग लिएका थिए । विक्रम संवत् २०७० को संविधान सभा निर्वाचनमा रुकुम- १ बाट उनी चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

२०७४ मा रुकुम पश्चिम प्रदेश सभा (१) बाट चुनावमा प्रतिस्पर्धा गरेका थिए । रोकाय राजनीतिक आन्दोलनकै क्रममा एक हप्ता जेल समेत परेका थिए । उनी २०६२–०६३ मा दोस्रो जनआन्दोलनको बेला सक्रिय भएर लाग्दा हिरासतमा पुगेका हुन् ।

Published : Monday, 2024 March 25, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया