एआइजी बज्राचार्य र अन्य प्रहरीलाई ठेगान लगाउन गृहमन्त्री लामिछानेले बनाए कार्यदल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) की तात्कालीन निर्देशक (एआइजी) किरण बज्रचार्यसहितका प्रहरी अधिकारीमाथि छानविन गर्न गृहमन्त्री रवि लामिछानेको आदेशमा ‘आन्तरिक अध्यन कार्यदल’ बनेको छ ।

गृह मन्त्रालयको कानून महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा ‘आन्तरिक अध्यन कार्यदल’ अर्थात् नयाँ समिति गठन भएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कार्यदलले सुन तस्करी प्रकरणमा आएको प्रतिवेदनलाई अध्ययन गरेर दण्ड सजाय, कारबाही र पुरस्कार दिने विषयमा सुझाव दिनेछ ।

समितिको सदस्यमा नेपाल प्रहरीका डीआइजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही रहेका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले चैत १ गते प्रतिवेदन बुझाउँदै एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो ।

सुन तस्करीको अनुसन्धान छानविन गर्दा बदनीयत देखाउने प्रहरी अधिकृतमाथि कार्वाही गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालको छलफलपछि समिति गठन भएको छ ।

एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाहीको सिफारिस भएको थियो ।

तात्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अनावश्यक हिमचिम राखेर एआइजी बज्राचार्यले सुन तस्कर जोगाउन बदनीयत राखेको र रकमसमेत माग्न लगाएको आरोप छ ।

उता, सीआइबीका निर्देशक (एआइजी) श्यामलाल ज्ञवालीले तत्कालीन निर्देशक (एआइजी) बज्राचार्यमाथि छलफल र अनुसन्धान गर्न अर्को समिति बनाएका छन् ।

बज्राचार्यमाथि आन्तरिक रुपमा अनुसन्धान गरेर कारबाही गर्ने तयारीमा एआइजी ज्ञवाली लागेका छन् । ज्ञवालीले सुन तस्करी प्रकरणमा जोडिएका अन्य प्रहरीहरूलाई पनि छानविनको दायरामा तान्ने प्रयास गरेको स्रोतले जनाएको छ ।

Published : Sunday, 2024 March 24, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया