आठ दश वटा औषधि सेवन, मानवीय समवेदना र करुणाले महरालाई छाडेको गृहमन्त्री लामिछानेकाे तर्क

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका बारेमा बचाउ गरेका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले मानवीय कारणले महरालाई जमानी धरौटीमा छाडिएको बताए ।

लामिछानेले पूर्वसभामुख समेत रहेका माओवादी नेता महरालाई पक्राउ गर्न हतार हतार सीआइबीका प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका थिए । महरा पक्राउ पनि परे । प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट बनेपछि गृहमन्त्री लामिछानेले महरालाई हाजिरी जमानीमा छाडेका छन् । र, महरालाई हाजिरी जमानीमा छाडेकोमा बचाउ गर्न गृहमन्त्री लामिछाने लागेका छन् ।

उनले भने, ‘कहिले काहिँ मानवीय समवेदना र करुणाका कुरा आउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरू आइरहेको छ ।’

‘आठ दश वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्तै धेरै बिरामी हुनुहुन्छ’, उनले भने, ‘सम्मानित अदालतले पनि बिरामी हुनु भएको कुरालाई इँगित गरेको छ ।’

गृहमन्त्री लामिछानेले भने, ‘कतिले उहाँलाई छोड्यो, देखायो छोड्यो भनेर तुरुन्तै निरासा जनाउनुभएको छ । राज्य निर्मम पनि हुन्छ । कठोर पनि हुन्छ । तर, राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ ।’

‘त्यसैले बिरामी अत्यन्त धेरै बिरामी, अत्यन्तै नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गर्नुपर्दैन’, लामिछानेले भने ।

‘भनेको बेलामा, चाहेको बेलामा उपस्थित हुने गरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ’, उनले भने, ‘अदालतले भनिसकेको छ, उहाँ स्वास्थ्य अवस्था कमजोर छ, त्यस कारणले यसलाई पनि लिएर अनेक टिकाटिप्पणी भएको हामीहरूले देखेका छौँ ।’

गृहमन्त्री लामिछानेले भने, ‘दोषी कोही पनि उम्कदैनन् । निर्दोष कोही पनि फस्दैनन् । निर्धक्क हुनु होला । नआत्तिनु होला । धैर्य गर्नु होला । माछा ठूलो होस्, चिप्लो होस्, बाठो होस्, जस्तो सुकै होस् उम्कदैन । माछा उम्काउनु प¥यो भने एक मिनटभित्र राजीनामा दिएर निस्कन्छु ढुक्क भएर बस्नु होला ।’

‘हामीले भनेकै समयमा, हामीले भनेकै माछा पकड भनेपछि गाह्रो हुन्छ । उ त्यहाँ माछा छ, उ हेर हेर भन्नुभयो भने त तपाईले देखेको माछालाई कानूनले पनि देख्नु प¥यो । त्यसको अनुसन्धान पनि हुनु पर्‍यो । त्यो परिपक्वता पनि चाहियो’, गृहमन्त्री लामिछानेले भने ।

‘राज्यमा बसेर प्रतिशोध साँध्नका लागि गएका होइनौँ । हामी कसैप्रति पनि प्रतिशोध साँध्दैनौँ’, उनले भने, ‘हामीप्रति प्रतिशोध साँध्ने मान्छेहरू चिनेको छु, अनुहार देखेको छु । सर्लक्कै चिन्छु । कसले प्रतिशोध साँध्यो ? क–कसले मुद्दा ले, मुद्दा दर्ता गर कि गर भनेर ककसले भने सर्लक्कै चिन्छु म ।’

‘ढुक्क हुनुहोस् । जनताले दिएको शक्तिको दुरुपयोग गरेर राज्यको महत्वपूर्ण निकायमा बसेर तपाईमाथि प्रतिशोध साँध्दैनौँ’, उनले भने, ‘लोकतन्त्रले प्रतिशोधलाई साँध्दैन । लोकतान्त्रिक दल हौँ । लोकतन्त्रलाई मान्छौँ । विधि र कानूनले जे भन्छ, त्योभन्दा दायाँबायाँ हुँदैन ।’

उनले भने, ‘तपाईले जीवनभर खुट्टा तोनेको किन नहोस् । चाहे प्रतिशोध साँधेको किन नहोस् । चाहे हामीलाई खन्नका लागि किन नहोस् तपाईले नै आफै खाल्डो खनेको किन नहोस्, खाल्डो त ठूलो खन्नुभयो । तर, दुर्भाग्य आफैले खनेको खाल्डोमा तपाईहरू आफै पर्नुभयो ।’

‘आज सत्ताबाट बाहिर निस्कनु भएको छ’, लामिछानेले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘यसलाई पुर्छु भनेर खनेको खाल्डो तपाईका लागि काम लाग्यो मेरो शुभकामना छ ।’

Published : Saturday, 2024 March 23, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया