एमाले नेता बस्नेत र शोभाको विवाद के हो ? किन दर्ता हुँदैन जाहेरी ? गृहमन्त्रीलाई जानकारी दिने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँगको विवादमा परेपछि न्यायका लागि संघर्ष गर्दै आएकी जानुका पाठक (शोभा)ले आफूविरुद्ध केही तत्वले मानहानी गर्ने मनसायले गतिविधि गरिरहेको गुनासो गरेकी छिन् ।

महेश बस्नेतबाट निवासमै गुण्डाहरू पठाएर कुटपिट र अभद्र व्यवहार भएको आरोपसहित न्यायका लागि शाेभाले सम्बन्धित निकायमा न्याय माग्दै आएकाे बताएकी छिन् ।

न्यायका लागि प्रयासहरू भइरहेका बेला शोभाविरुद्ध कीर्ते कागजपत्रहरू बनाएर केही तत्वले गलत गतिविधि गरेपछि चिन्ता जनाएकी छिन् । शनिबार उनले भनेकी छिन्, ‘मेरो नागरिकताको विषयलाई लिएर केही तत्वले कीर्ते कागज बनाएर चरित्र हत्या हुने गरेर गतिविधि गरिरहेको छ । म चुप लागेर बस्दैन । न्यायका लागि लड्नेछु ।’

जिल्ला प्रशासन कार्यालय धादिङबाट नागरिकता लिएकी उनले नागरिकताको प्रथम प्रतिलिपि लिएकी छिन् । प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको विवरण राखिएको ढड्डामा सच्याएको भनेर लाञ्छना लगाउने गरेर गतिविधि भएको भन्दै उनले कानूनी उपचार खोज्ने बताएकी छिन् ।

विवाहित उनले सम्बन्ध विच्छेद गरेपछि पूर्वपतिको नाम नागरिकताबाट हटाउन प्रथम प्रतिलिपि लिएकी हुन् । कानूनले नै उनलाई प्रतिलिपि लिने अधिकार दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीनाथ गैह्रेले जानुका पाठक (शोभा)को व्यक्तिगत विवरणमा केरमेट वा लिखत गर्न नपाउने बताएका छन् । गैह्रेले भने, ‘हामीसँग भएको लिखत वा व्यक्तिको विवरणको गोपनीयता रहन्छ । हामीले कसैलाई विवरण दिएका छैनौँ । विवरण राख्ने क्रममा कर्मचारीबाट गल्ती भएको छ वा छैन सम्बन्धित व्यक्तिले खोधीखोजी गरेमा अनुसन्धान हुन्छ ।’

शोभाले पनि आफ्नो नागरिकताको विषयमा गलत तथ्याङ्कसहित गतिविधि हुन थालेपछि सीडीओ बद्रीनाथ गैह्रेलाई फोन गरेर के भएको हो भनेर चासो र चिन्ता जनाएकी छिन् । उनले सीडीओसँग आफूले कुनै गल्ती नगरेको भन्दै गलत गतिविधि गर्नेहरूविरुद्ध न्यायको लागि उपचार खोज्ने बताएकी छिन् ।

उनले २०५७ कात्तिक ९ गते प्रथम प्रतिलिपि लिएकी हुन् । ०५७ सालमा नागरिकताको प्रतिलिपि लिएकी उनलाई नागरिकतामा कीर्ते वा जन्ममिति सच्याउनुपर्ने आवश्यक्ता नै छैन ।

न्यायका लागि संघर्ष गरिरहेकी शोभालाई विवादमा पारेर हतोत्साहित बनाउन एमालेका नेता बस्नेत लागेको आरोप उनकाे छ । महश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पटक पटक प्रयास गर्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनले बताएकी छिन् ।

शोभाले नेता बस्नेतविरुद्ध प्रमाणहरू संकलन गरेर फाइल नै बनाएकी छिन् । फाइलमा बस्नेतसँगको अन्तर्रङ्ग तस्बिर र च्याटमा गरिएका सम्वादहरू राखिएका छन् । महेश बस्नेतसँग प्रेम सम्बन्धमा रहेको उनले दाबी गर्दै तथ्य र प्रमाणहरूको ठूलै फाइल बनाएर राखेकाे बताएकी छिन् ।

शोभाले फाइलमा नेता बस्नेत साँक्षी बसेर बच्चा फालेको अस्पतालको कागज र तस्बिर पनि राखेकाे दाबी गरेकी छिन् । प्रहरीले शोभालाई न्याय दिन आनाकानी गरिरहेको उनकाे भनाइ छ । नेता बस्नेत पावरफुल मानिन्छन् । राजनीतिक शक्ति र सत्ताको आडमा बस्नेतविरुद्धको जाहेरी लिन प्रहरी डराइरहेको उनकाे भनाइ छ ।

प्रहरीले बस्नेतविरुद्ध जाहेरी लिन नमानेमा बैकल्पिक माध्यमबाट १/२ दिनभित्रै जाहेरी कुनै पनि हालतमा दर्ता गर्ने दाबी गरेकी छिन् । शोभाले आफू र बस्नेतबीचको कुरालाई लिएर प्रहरीले जाहेरी नलिएको विषयमा गृहमन्त्री लामिछानेलाई जानकारी गराउने बताएकी छिन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने छन् । लामिछानेले एमालेका नेता बस्नेत र जानुका पाठक (शोभा)को विषयलाई के कसरी ध्यान दिन्छन् हेर्न बाँकी छ । शोभाले लगाएको आरोपबारे प्रक्रिया लिन शनिबार बेलुका नेता बस्नेतसँग फोनमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Published : Saturday, 2024 March 23, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया