गृहमन्त्री लामिछाले पूर्वाग्रही भएर सीडीओ-प्रहरी चलाउन थालेपछि प्रचण्ड र ओलीबीच परामर्श

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जबरजस्त रुपमा अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् ।

शुक्रबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा दाहाल र ओलीबीच कांग्रेसको मागका विषयमा छलफल भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले ओलीसँग गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणका बारेमा संसदीय छानविन समिति बनाउन कांग्रेसको मागका विषयमा छलफल भएको छ ।

गृहमन्त्री लामिछानेले मिडियाबाजी र सस्तो लोकप्रियताका लागि गरिरहेका हर्कतका विषयमा पनि दाहाल र ओलीबीच परामर्श भएको छ ।

प्रधानमन्त्री दाहाल निकट एक नेताले भने, ‘गृहमन्त्री रवि लामिछानेले सरकारलाई नै अफ्ठ्योरो पार्ने गरेर गतिविधि गरिरहनुभएको छ । लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बारेमा लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानविन समिति गठनको माग गरेको छ । यी समग्र विषयमा छलफल भएको हुन सक्छ ।’

सुन तस्करी प्रकरणमा गृहमन्त्री लामिछानेले सीआइबीका प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीलाई बोलाएर माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको र उद्योगपति विनोद चौधरीलाई बयान लिन लगाएको लगायतका विषयमा पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको बुझिएको छ ।

सांसद समेत रहेका व्यवसायी चौधरीलाई राजनीतिक पूर्वाग्रही भएर गृहमन्त्री लामिछानेले एआइजी ज्ञवालीमार्फत बयान लिएर बदनाम गराएको र माओवादी केन्द्रलाई पनि बदनाम गराउने गतिविधिमा संलग्न भएको भनेर गुनासा आइरहेका बेला दाहाल र ओलीले गम्भीर छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच गृहमन्त्री लामिछानेले सीडीओ र प्रहरीलाई दुरुपयोग गर्न लागेको भनेर पनि छलफल भएको माओवादी निकट स्रोतको दाबी छ ।

Published : Friday, 2024 March 22, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया