गृहमन्त्री लामिछाने र एआईजी ज्ञवालीलाई प्रारम्भमै झट्का, महराले आंशिक न्याय पाए

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सस्तो लोकप्रियता प्रकरणका कारण पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले (आंशिक) न्याय पाएका छन् ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका महरा शुक्रबार हाजिरी जमानतमा रिहा भएका हुन् । हाजिरी जमानतमा महरा रिहा भएपछि गृहमन्त्री लामिछाने र एआईजी श्यामलाल ज्ञवालीलाई ठूलो झट्का लागेको छ । सस्तो लोकप्रियताका लागि गतिविधि गरिरहेका लामिछाने र ज्ञवालीप्रति सर्वसाधारणले गम्भीरतापूर्वक लिएका छन् ।

महरालाई पक्राउ गर्न गृहमन्त्री लामिछानेले सीआइबीका प्रमुख (एआईजी) ज्ञवालीलाई निर्देशन दिएका थिए । ज्ञवालीले तत्काल महरालाई पक्राउ गर्न प्रहरी टोली खटाएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको अनुमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले महरालाई रिहा गरेको छ ।

अदालतले दिएको चार दिनको म्यादभित्र महराको बयान सकिएको र स्वास्थ्य अवस्था कमजोर रहेकाले हाजिरी जमानतमा छाड्न अनमुति दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताएका छन् ।

सीआइबीले महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ । कान्छा छोरा राहुल महरा सुन तस्करी प्रकरणको अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।

चार दिन प्रहरी हिरासतमा राखिएका महरासँग सीआइबी र सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

सुन तस्करी गिरोहका मुख्य नाइकेमध्येका दावोजिन वाङसँग सम्बन्ध देखिएपछि प्रहरीले महरामाथि अनुसन्धान गरेको छ ।

महराले सुन तस्करी प्रकरणको आरोप अस्वीकार गरेका छन् । उनले वाङसँग चिनजान भए पनि सुन कारोबारमा संलग्न नभएको बयान दिएका छन् ।

प्रहरीले महरालाई चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरेको थियो । कपिलवस्तुबाट महरालाई काठमाडौं ल्याइएको थियो ।

Published : Friday, 2024 March 22, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया