शरत-निर्जलालाई मालामाल बनाउने श्रमका ‘पावरफुल’ सहसचिव र २ उपसचिवको सिंहदरबारभित्र निकै चर्चा

काठमाडौं । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई अबैध उठ्तीपुठ्ती गरेको आरोप लागेका सहसचिव राजिव पोखरेल, उपसचिवद्वय कृष्ण भुसाल र कविराज उप्रेतीबाट वैदेशिक रोजगार व्यवसायी र सेवाग्राहीहरू आजित बनेका छन् ।

वैदेशिक रोजगार विभाग, ताहाचलका निर्देशक (उपसचिव) कविराज उप्रेतीले वैदेशिक रोजगार व्यवासयीहरूसँग छापामार्ने लगायत विभिन्न बहानामा धम्काएर रकम उठाएको आरोप छ । निर्देशक उप्रेतीले केही व्यवसायीहरूसँग एलटी नम्बर ब्लक गरिदिएर १५ देखि २० लाखसम्म अबैध रुपमा रकम उठाएको आरोप छ । उप्रेतीले केही व्यवसायीसँग गरेको टेलिफोन र लेनदेनको कुराकानीको अडियो व्यवसायीहरूका बीच भाइरल बनेको छ ।

तत्कालीन श्रममन्त्री भण्डारीकी कान्छी पत्नीको आरोप लाग्दै आएकी पूर्वसांसद निर्जला राउतसँग मिलेर उप्रेतीले काठमाडौं उपत्यकाभित्रका होटलहरूमा व्यवसायीहरूसँग अबैध रकम असुली गरेको व्यवसायीहरूका बीचमा चर्चा छ । व्यवसायीहरूले आवश्यक पर्दा उप्रेतीसँग भएको टेलिफोन सम्वाद र होटलमा भएको कुराकानीको अडियो उपलब्ध गराउन सक्ने दाबी गरेका छन् ।

यता, मन्त्रालयमा बसेर उपसचिव कृष्ण भुसालले तत्कालीन मन्त्री भण्डारीलाई आर्थिक रुपमा निकै बलियो बनाएको चर्चा मन्त्रालयभित्र छ । भुसाल अहिले पनि मन्त्रालयमा बसेर हालिमुहाली गरिरहेका छन् । वैदेशिक रोजगारीमा सुधार गर्ने हो भने सहसचिव पोखरेल, उपसचिव भुसाल लगायतलाई मन्त्रालयबाटै हटाउनुपर्ने धेरैको माग छ ।

उता विभागमा हालिमुहाली गरिरहेका निर्देशक उप्रेतलाई पनि हटाउनुपर्ने माग उठिरहेको छ । उप्रेती निकै शक्तिशाली मानिन्छन् । तत्कालीन मन्त्री भण्डारीका बेलामा आफूभन्दा माथिको हाकिम अर्थात् महानिर्देशक मदन दाहालले मन्त्री भण्डारीकी कान्छी पत्नी निर्जला राउतको उठ्तीपुठ्तीमा असहयोग गरेपछि उनै उप्रेतीले महानिर्देशक दाहालको सुरुवा गराएका थिए ।

युरोपको मागपत्र प्रमाणीकरण गर्न, कार्यविधि परिवर्तन गरी सहसचिव पोखरेल संयोजक र उपसचिव भुसाल सदस्य सचिव रहेको समिति बनेको छ । समितिमार्फत व्यवसायीहरूसँग करोडौँ असुली गर्ने धन्दामा उनीहरू लागेका थिए ।

तत्कालीन मन्त्री भण्डारीलाई विवादित निर्णय गर्न लगाउने कार्यमा सहसचिव पोखरेल नै संलग्न रहेका थिए । उनको भूमिका प्रमुख छ । पोखरेललाई पूर्वश्रममन्त्री किसान श्रेष्ठले वैदेशिक महाशाखामा ल्याएका थिए । त्यस बेलादेखि महाशाखामा बसेर पोखरेलले व्यवसायीहरूलाई दु:ख दिएर हालिमुहाली गर्दै आएका छन् । सहसचिव पोखरेल मानव तस्करहरूसंग मिलेर बेलाबेला पत्नीलाई लिएर विदेश भ्रमणमा गएको आरोप मन्त्रालयका कर्मचारीहरूले लगाएका छन् ।

यता, विभागका निर्देशक उप्रेती श्रम काउन्सिलर बन्न कार्यविधि परिवर्तन गर्ने प्रयासमा समेत लागेका थिए । उप्रेतीले श्रम काउन्सिलर बन्न आफू अनुकूल हुने गरी कार्यविधि बनाउन प्रयास गरे पनि सफल हुन पाएका थिएनन् ।

Published : Friday, 2024 March 22, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया