शेखर गुटको बैठकमा विश्व–प्रदीपलाई गालीगलौज, धनराजले मुख खाले, गगन बोलेनन्

काठमाडौं । नेपाली कांग्रेस उप–सभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती दबाब दिएर आफूहरूको समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् ।

मंगलबार काठमाडौंको बालुवाटारस्थित नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको शेखर गुटका नेताहरूको बैठकमा उप–सभापति गुरुङले नयाँ नेताहरूलाई गुटमा अवसर र स्थान दिनुपर्ने बताएको स्रोतले जनाएको छ ।

‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन्’, गुरुङले भने, ‘आउने साथीहरू आफैँ आउँछन् । हामीले कसैलाई तानेर ल्याउने कुरामा लाग्नुहुँदैन ।’

उनले संस्थापन समूहका केही नेताहरू आफूसँग सम्पर्कमा रहेको र संस्थापन समूह छाडेर आउन तयार रहेको दाबी गरेका छन् ।

उनले भने, ‘नेपाल महिला संघ, नेपाल तरुण दलमा हाम्रा मान्छेलाई रोक्ने काम भयो । हाम्रो भित्रैबाट पनि भयो । विभागमा पनि हामीलाई आफ्नो पोजिशन क्लियर पार्नुपर्छ ।’

कानूनमन्त्री समेत रहेका उप–सभापति गुरुङले सरकार सञ्चालनमा पार्टीकै मान्छे पर्छन् भनेर कांग्रेसबाटै खुट्टा तान्ने काम भएको बताएका छन् ।

‘हामीले यो सरकारलाई काम गरेन भन्नु भएन । काम गर्नु दिनुपर्छ’, उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा वेतन झालाई पक्राउ गर्न सकिएको भए धेरै कुराको पर्दाफास हुने थियो । उनलाई पक्राउ गर्न दिइएन ।’

गुटको बैठकका लागि शेखर कोइरालाले फोन गरेर महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई बोलाएका थिए । शेखरले फोन गर्दा दुवै नेताले सकारात्मक जवाफ दिए पनि प्रदीप चीन गएकाले बैठकमा आएनन् । विश्वप्रका शर्माले आफू नआउने सन्देश पठाएका थिए ।

शेखरले महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेलसँग आफ्नो कुराकानी भइरहेको बताएका थिए । शेखरले भने, ‘प्रदीपजीले चीन जाने कार्यक्रम छ, अर्को पटकदेखि आउँछु भन्नुभएको छ ।’

‘महामन्त्री विश्वप्रकाशजीसँग पनि कुरा भइरहेकै छ’, शेखरको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘आज उहाँ आउनुभएन, थप कुराकानी गर्छौं ।’

१४औं महाधिवेशनमा शर्मा नेता प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार भई महामन्त्री निर्वाचित भएका थिए । पुस ६ गते भएको संसदीय दल चुनावमा भने शर्माले अर्का महामन्त्री गगन थापालाई साथ दिएका थिए ।

नेता शेखर कोइरालाको गुटको बैठक महामन्त्री शर्मा र पौडेल अनुपस्थित भएपछि तनाबको स्थिति सिर्जना भएको छ । महामन्त्री गगन थापाले शर्मा र पौडेललाई बालुवाटारको गुटको बैठकमा आउन नदिएको चर्चा पनि छ ।

Published : Tuesday, 2023 September 19, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया