रुपन्देहीमा झडप, एक जनाको मृत्यु, १३ जना पक्राउ

काठमाडौं । रुपन्देही जिल्लामा मजुदरहरूबीच झडप हुँदा एकजनाको मृत्यु भएको छभने तीनजना गम्भीर घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नं. ९ केवलानीस्थित एसजी रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरूले आपसमा झगडा गर्दा घटना भएको थियो ।

झडपको क्रममा धारिलो हतियार प्रहार हुँदा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत बिकले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले तिलोत्तमा नगरपालिका ९ केरवानीमा विभिन्न पेटी ठेकेदारहरूसँग मजदुरी गर्दै आएका उनीहरू विश्वकर्मा पूजापछि साँझ मदिरासहितको भोजमा बसेको बताएका छन् ।

झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा परी काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले बताएका छन् । मृतक स्याङतानको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।

Published : Tuesday, 2023 September 19, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया