प्रदीपद्वारा प्रचण्डकी छोरीको चाकडी, मन्त्रीलाई छेउमा पर्न दिएनन्

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिनामंगलस्थित नयाँ भवन उद्घाटनका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई धेरै महत्व नदिएपछि कर्मचारीहरूले कानेखुसी गरेका छन् ।

शनिबार सिनामंगलस्थित प्राधिकरणको नयाँ भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अधिकारीले दाहालको अगाडि पछाडि गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।

प्रधानमन्त्री दाहालको भन्दा पनि महानिर्देशक अधिकारीले स्वकीय सचिव एवम् छोरी गंगा दाहालको निकै चाकडी गरेका थिए । गंगा दाहाललाई पनि महानिर्देशक अधिकारीले मञ्चमै राखेका थिए । अधिकारीले गंगालाई कुनै हैसियत र औकातका कारण प्राधिकरणको औपचारिक कार्यक्रम अर्थात प्रधानमन्त्रीको कार्यक्रमको मञ्चमा राखेका हुन् प्रश्न उठेको छ । अधिकारीले आफ्नो महानिर्देशक पद सुरक्षित बनाइ बचाउनका लागि गंगासँग चाकडी गर्न मञ्चमा राखेको भनेर प्राधिकरणका कर्मचारीहरूले आरोप लगाएका छन् ।

महानिर्देशक अधिकारीले प्राधिकरणको आधिकारिकत ट्वीटरमा पर्यटनमन्त्री किराँतीको तस्बिर देखिने एउटा तस्बिर मात्रै राखेका छन् । प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगाको तस्बिर देखिने गरेर अन्य थुप्रै तस्बिरहरू राखिएका छन् ।

प्राधिकरणको नयाँ भवनको उद्घाटन कार्यक्रममा पनि महानिर्देशक अधिकारीले कर्मचारीहरूलाई मर्यादा विपरित मुख छाडेर अपशब्दसहित गालीगलौज गरेको पीडित कर्मचारीहरूले बताएका छन् ।

हिमालयन एयरलाइन्सको कार्यक्रममा पनि महानिर्देशक अधिकारीले निकै तल्लोस्तरको शब्दावली प्रयोग गरेर मुख छाडेर बोलेको एयरलाइन्सका कर्मचारीहरूले गुनासो गरेका छन् । अधिकारीका विषयमा गुनासो र उजुरी गर्ने ठाउँ कतै छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती महानिर्देशक अधिकारीसँग डरले थुरथुर भएर बसेका छन् । अधिकारीले झण्डै किराँतीको मन्त्री पद नै खाइदिएका थिए । मन्त्री किराँती महानिर्देशक अधिकारीसँग डराएर सिंहदरबारभित्रै बस्ने गरेका छन् ।

प्राधिकरणको भवन उद्घाटनका बेला महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई प्रधानमन्त्री दाहालको छेउँछाउँ नै पर्न दिएका थिएनन् । तस्बिरहरूमा पनि मन्त्री किराँती प्रधानमन्त्री दाहालको आसपास देखिएका छैनन् ।

शनिबार नयाँ भवन उद्घाटन गर्ने कार्यक्रम समापन भएपछि महानिर्देशक अधिकारी आफू निकटका साथीहरूसँग रिसोर्टमा सक्केस पार्टीका लागि गएको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।

युरोपियन युनियनको प्रतिनिधि नेपालमा आएका छन् । नेपालको हवाई सुरक्षाका विषयमा अध्ययन गर्न आएको टोलीका कारण महानिर्देशक अधिकारी निकै तनाबमा छन् । ईयुले नेपालको हवाइ सुरक्षाप्रति निकै चासो र चिन्ता जनाउँदै आएको छ । प्राधिकरणलाई ईयुले टुक्र्याउन सुझाव दिँदै आएको छ । तर, अधिकारीले प्राधिकरण टुक्र्याउन दिएका छैनन् ।

Published : Monday, 2023 September 18, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया