अमेरिकामा जेल बसेका बिचौलिया ठग नै रवि लामिछानेका कोर टिमका सदस्य, ३ करोडको काण्ड आयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद तथा नेता डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको बताएका छन् ।

सभापति रवि लामिछानेको कोर टिमका सदस्यमध्येका थापाले आफूसँग तीन करोड रुपियाँ मागेको डा.श्रेष्ठको भनाइ छ । डा.श्रेष्ठले आफूसँग थापाले सामाखुसीमा रकम माग गरेको बताए । केन्द्रीय सदस्य थापा अमेरिकामा बस्छन् । लामिछानेका निकै विश्वासिला व्यक्ति हुन् ।

विभिन्न टेलिभिजनहरूसँगको अन्तर्वार्तामा डा.श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अडियोबारे डा.श्रेष्ठले भने, ‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन ।’

‘म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि’, उनले भने ।

तत्कालीन समयमा डा.श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । अडियोका कारण डा.श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रसाईंसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईंले सुनियोजितरूपमा अडियो सार्वजनिक गरेको डा.श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ ।’

‘उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो’, डा.श्रेष्ठले भने, ‘मन्त्री बन्दै हुनुहुँदोरहेछ, तपाईंलाई मैले सहयोग गर्नुपर्‍यो के भन्नुहोस् ।’

मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापालगायतको टिमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी प्रसाईंसँग कुरा भएको डा.श्रेष्ठले बताएका छन् ।

सुनियोजित तरिकाले पूरै संवाद बाहिर नल्याइएको दाबी उनले गरेका छन् । उनले भने, ‘पैसाको कुरा चल्यो, त्यतिखेर मलाई पैसा चाहिएको पनि थियो ।’

‘२–२ करोड माग्ने हो भने त फर्काउनु पनि पर्‍यो नि त’, डा.श्रेष्ठले भने, ‘दुर्गा प्रसाईं मेरो दाइ होइन, बा होइन, त्यसै मलाई पैसा त दिनुहुन्न । फर्काउने सर्तमा कुरा भएको थियो, अडियोमा त्यो फर्काउने सर्त छैन ।’

रवि लामिछानेको कोर टिमका सदस्य समेत रहेका केन्द्रीय सदस्य थापाले आफूलाई तपाईं मन्त्री बन्दै हुनुहुन्छ भनेको र रकम पनि त्यही क्रममा रकम मागिएको उनले बताएका छन् ।

‘किन माग्नुभयो, थाहा भएन । मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ’, डा.श्रेष्ठले भने ।
‘तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो । त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयोग चाहिन्छ भनेर उहाँले माग्नुभयो’, डा.श्रेष्ठले भने ।

मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको डा.श्रेष्ठले भनेका छन् ।

मोहनजंग थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् ।

‘त्यसपछि म त एक किसिमले मन्त्री बन्ने भएँ भन्ने सोच भयो । ४०–५० लाख मसँग थियो र अरू थप मलाई चाहियो’, डा.श्रेष्ठले भने ।

रवि लामिछानेको कोर टिम भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।

‘घण्टाघण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो, खै चेक ल्याइदेको, नभए तपाईंको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने’, डा.श्रेष्ठले भने ।
सामाखुसीभित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् । उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको डिल गरेका थिए ।

आफूलाई मात्र कारबाही भएकाले अरूको प्रमाण पनि सार्वजनिक गरिदिने उनले चेतावनी दिएका छन् । ‘मसँग प्रमाण छ, केही समयमा निकाल्छु’, डा.श्रेष्ठले भने ।
केन्द्रीय सदस्य थापा सभापति लामिछानेका अति निकट व्यक्ति हुन् । देशको कायपलट गर्ने नारा लगाउँदै आएका लामिछानेले अमेरिकामा बसेर ठगीको धन्दा चलाउँदै आएका थापालाई नै केन्द्रीय सदस्य बनाएका थिए ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका थिए । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।

Published : Monday, 2023 September 11, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया