गृहमन्त्रीको आडमा प्रहरीको गुण्डागर्दी, भृकुटीमण्ड घटना सेलाउन नपाउँदै कांग्रेसका सांसदलाई अट्याक
काठमाडौं । नेपाली कांग्रेसले ताप्लेजुङ जिल्लामा प्रहरीले गुण्डागर्दीको शैलीमा कोशी प्रदेश सभाका सदस्य (सांसद) खगेनसिंह हङ्गामसहितका नेता कार्यकर्तालाई कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको भन्दै घोर आपत्ति जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरेर कांग्रेसले ताप्लेजुङमा प्रहरीले गरेको गण्डागर्दी शैली र हर्कतको निन्दा एवम् भर्त्सना गरेको छ ।
प्रहरीले सुकेटारबाट फर्किएका पेमा लामा तामाङलाई कुटपिट गरेको थियो । कुटपिटको घटनाका विषयमा बुझ्न खोज्दा कांग्रेसका प्रदेश सदस्य हङ्गामलाई दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ । बर्दीमा रहेका र सादा पोशाकमा रहेका प्रहरीले सर्वसाधारण लामालाई निर्घात कुटेर घाइते बनाएका छन् भने हङ्गामलाई दुर्व्यवहार गर्नुका साथै निवासमा ढुंगामुढा गरेको कांग्रेसले जनाएको छ ।
‘ताप्लेजुङमा लाखेजात्रा समापनको दिन, २०८० भदौ २१ गते राति प्रहरी कार्यालयभन्दा ५० मिटर वर कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गामको निवासबाट करिव २५ मिटर टाढा संचालन भएको मिनिमेलामा नेपाली कांग्रेस ताप्लेजुङ र स्थानीयवासी समेतबाट प्राप्त जानकारी अनुसार मादक पदार्थ सेवन गरेका प्रहरीहरूले नेपाली कांग्रेसका नेता तथा सर्वसाधारण व्यक्तिलाई समेत कुटपिट र हातपात गर्नुका साथै दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले भनेको छ, ‘मेलामा सहभागी भएका पेमा लामा तामाङ सुकेटार घुमफिर गरी फर्कने क्रममा यो घटनाका बारेमा आवाज उठाउँदा प्रहरीले उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काएका छन् । उहाँको आँखामा गम्भीर चोट लागेको छ र चस्मा फुटेको छ ।’
‘घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङ्गामलाई वर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै उहाँको निवासमा ढुंगामुडा समेत प्रहार गरेका छन्’, कांग्रेसले भनेको छ ।
‘जनताको सेवक जनप्रतिनिधिलाई सुरक्षा दिनको अलावा निवासमै गएर गुण्डागर्दी शैलिमा आक्रमण गर्नु गराउनु प्रहरी प्रशासनको नियोजित र गैर जिम्मेवार कार्य हो’, कांग्रेसले भनेको छ ।
‘मेलामा सर्वसाधारण व्यक्तिलाई सुरक्षा दिनु प्रहरी प्रशासनको कर्तव्य हो’, कांग्रेसले भनेको छ, ‘यसबाट विमुख भएर प्रहरी प्रशासनले देखाएको अमर्यादित क्रियाकलाप खेदजनक छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाको छानविन गरी संलग्न दोषी प्रहरीलाई निलम्वन गर्नुका साथै कडाभन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि प्रहरीले ज्यादती गरिरहेको छ । राजनीतिक पूर्वाग्रही भएर प्रहरीले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा लगाउने, कुटपिट गर्ने, थुनामा हाल्ने लगायतका हर्कत गरिरहेको छ । गृहमन्त्री श्रेष्ठको निर्देशनमा कांग्रेसका नेता कार्यकर्तालाई प्रहरीले दु:ख दिएको आरोप नेपाल तरुण दलले लगाउँदै आएको छ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया