गगनलाई शेखरको जवाफ– कसैलाई प्रतिरक्षा गर्न म आएको होइन
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकमा आफूले कसैको प्रतिरक्षा नगरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापना कार्यक्रममा कोइरालाले भने, ‘मैले भने केन्द्रीय समितिमा कसैलाई पनि प्रतिरक्षा गर्न म आएको होइन ।’
महामन्त्री गगन थापासँगको सम्बन्धमा चिसो भइरहेका बेला नेता कोइरालाले आफूले कसैको प्रतिरक्षा नगर्ने बताएका हुन् । कोइरालाको यो भनाइले थापालाई तनाब बढाइदिएको छ ।
उनले भने, ‘कतिले मलाई भन्नुभयो, तपाईंले महामन्त्री (गगन थापा) को रक्षा गर्नुभएन भनेर । केही केन्द्रीय सदस्य, संघीय र प्रदेशका सांसदले भन्नुभएको छ । मैले भने केन्द्रीय समितिमा कसैलाई पनि प्रतिरक्षा गर्न म आएको होइन ।’
‘सुशील कोइराला सभापति हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका अघि मैले भनेको थिएँ, सुशील’दा म तपाईंकै प्यानलबाट जितेको, तर आज म तपाईंले भनेको मान्दिनँ’, उनले भने ।
‘उहाँले भ्रातृ संस्थाहरूलाई विघटन गरिदिनुभएको थियो । त्यो मैले स्वीकार गरिनँ । केन्द्रीय समितिमा पनि त्यसबेला कुरा चलेको थियो– एकै समूहमा भएर पनि यस्तो कुरा गर्ने भनेर’, उनले भने ।
‘केन्द्रीय समितिमा आफ्नो बुद्धि विवेक लगाउने हो, ग्रुपले जे भन्छ त्यो भन्ने भए त एक जनाले बोले भइहाल्यो’, उनले भने ।
‘हामीहरूका बीच (शेखर–गगन थापा) केही मतभिन्नता छैन, एजेन्डामा मतभिन्नता छैन । शेरबहादुर देउवासँग केमा मिल्यो ? मैले आजसम्म पनि बुझ्न सकेको छैन । तपाईंहरू लेखिरहनुभएको छ– यो देउवासँग मिल्यो भनेर, किन लेख्या मैले बुझेको छैन’, उनले भने ।
‘पहिले शेखर सभापति देउवालाई भेट्न जाँदैनथ्यो भन्ने पनि लेख्नुभएको छ । पहिले शेरबहादुरजीले बोलाउनु हुँदैनथ्यो त म जाने कसरी ? बोलाएपछि न जाने हो भेट्न, यो कुरा बुझिदिनुपर्यो’, कोइरालाले भनेका छन् ।
‘फाटो ल्याउने एउटा समूह हुन्छ, स्वभाविक पनि हो त्यो । जहाँ पनि हुन्छ नै । अधिवेशन भयो, शेरबहादुरजी जित्नुभयो म हारेँ । त्यही दिनदेखि शेरबहादुरजी र हाम्रोतिर पनि त्यस्तो ग्रुप हुन्छ, स्वभाविक हो । त्यसलाई लेखेर पुष्टि गर्न खोजिरहनुभएको छभने त्यतातिर नजानुस्, हामीबीच कुनै मतभिन्नता छैन’, उनले भने ।
‘हामीले कांग्रेसलाई कसरी मजबुत बनाउने भन्ने सोच्ने हो । १४ औं महाधिवेशनमा ४० प्रतिशत भोट हाम्रो समूहले पाएको थियो’, कोइरालाले भने, ‘त्यसलाई ६० देखि ७० प्रतिशत कसरी बनाउने पो सोच्नुपर्यो, कसैलाई गाली गरेर त हुँदैन ।’
उनले भने, ‘शेरबहादुरजीहरूले गरेका गलत कामहरूको हामीले गलत नै भनिराखेको छ । मैले सभापति देउवालाई सोधेर कोशी प्रदेशको कुरा ट्वीट गरेको हुँ । कोशीमा सभामुखले सरकार बनाउन समर्थन गरेपछि मैले सभापति देउवालाई भनेको हुँ– गलत भयो भनेर ।’
‘सभापति देउवाले कोशीबारे छलफल गर्न बोलाउनुभएको थियो’, उनले भने, ‘त्यसबेला मैले मेरै समूहका अरूले के गर्छन् थाहा छैन, मचाहिँ तपाईंहरूले गलत गर्नुभयो भनेर ट्वीट गर्छु भनेर गरेँ । कोही रिसाउनुभयो, कोही खुसाउनुभयो होला ।’
कोइरालाले भने, ‘मैले सभापतिलाई त्यस दिन बैठकबाट उठ्ने बेला भनेको थिएँ, पार्टीका लागि यो ट्वीट गरेको हुँ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया