जिल्ला सभापतिहरूद्वारा महामन्त्रीद्वय थापा र शर्मालाई मर्यादामा बस्न सुझाव, विवादलाई सडकमा नलैजान आग्रह
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूसँग संगठन निर्माणका विषयमा छलफल गरेको छ ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको भेलामा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गरेको हो ।
नेपाली कांग्रेसको सदस्यता, क्रियाशील सदस्यताको सन्दर्भमा प्रविधिमैंत्री व्यवस्थापन तथा विभिन्न तहको सम्मेलनका बारेमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।
जिल्ला सभापतिहरूले पार्टीका नेता कार्यकर्ता र सर्वसाधारण नागरिकले कांग्रेस सरकारमा भएको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । सभापतिहरूले महामन्त्रीहरूले जथाभावी बोलेर पार्टीभित्रको आन्तरिक विवादलाई बाहिर ल्याएको भन्दै त्यस्तो नगर्न सुझाव दिएका छन् । उनीहरूले महामन्त्रीद्वय थापा र शर्माका साथै केही नेताहरूलाई मर्यादामा बस्न चेतावनी दिएका छन् ।
०७८ को मंसिरमा भएको १४औँ महाधिवेशनपछि पहिलो पटक बिहीबार काठमाडौंमा भएको जिल्ला सभापतिहरूको भेलामा भएको छ ।
सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नभएको, सरकारका मन्त्रीहरूले गुटगत व्यवहार गरेको, बजेट विनियोजनमा सबै जिल्लालाई समेट्ने काम नभएको, पार्टी नेतृत्वले ठीक ढंगले काम गर्न नसकेको जस्ता गुनासा पोखेका छन् ।
जिल्ला सभापतिहरूले पार्टीको राजनीतिक भविष्यप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा महामन्त्रीहरूको खुम्चिएको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भेलामा महामन्त्रीद्वय थापा र शर्माले पार्टीको सदस्यता प्रणाली, संगठन विस्तार र भावी रणनीतिका विषयमा जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गरेको बताएका छन् ।
विश्वकर्माले भने, ‘भेलालाई महामन्त्रीद्वयले सम्बोधन गर्नुभयो । त्यसपछि जिल्ला सभापतिहरूले सुझावसहितको जिल्लाको अवस्थाको जानकारी गराउनुभएको छ ।’
उनले भने, ‘कतिपय विषयहरूमा जिल्ला सभापतिहरूको सुझावले पार्टीलाई भावी कार्ययोजना बनाउन मद्दत पुगेको छ । हामी त्यस्ता विषयहरूलाई केन्द्रीय समितिको आगामी बैठकमा प्रस्तुत गरेर अघि बढ्छौँ ।’
भेलामा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जिल्ला सभापतिहरूबाट पार्टी नेतृत्वमाथि मिश्रित टिप्पणी र गुनासाहरू आएको बताए ।
‘पार्टीमा १० महिनादेखि केन्द्रीय समिति बस्न सकेको अवस्था छैन’, महरले भने, ‘पार्टी सरकारमा छ । हामीले त्यसको अनुभूति गर्न पाएका छैनौँ, नागरिकले पार्टीप्रति आशाभन्दा निराशा धेरै पोखिरहेका छन् भन्ने धेरै सभापतिजीहरूको कुरा आएको छ ।’
भेलामा पार्टीको मोरङ जिल्ला सभापतिसमेत रहेका डिगबहादुर लिम्बूले आफू सरकारको मन्त्री भए पनि आफ्नै क्षेत्रमा जनताको मागबमोजिम बजेट लैजान नसकेको बताएका छन् ।
‘म सरकारको मन्त्री हुँ’, लिम्बूले भने, ‘अर्थमन्त्रीले बजेट विनियोजन गर्दा आवश्यकताभन्दा गुट हेरेको अवस्था छ ।’
संखुवासभा जिल्ला सभापति दीपक खड्काले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकिरहेको प्रति ध्यानाकर्षण गराएका छन् । खड्काले भने, ‘पूर्वी नेपाल बाढी पहिरोबाट शोकमा छ । सरकारले बाढीपीडितलाई राहत हुने गरी कार्यक्रम ल्याएको छैन ।’
सभापति खड्काले भने, ‘घोषणापत्रमा समाजवादउन्मुख घोषणाहरू समेटेको कांग्रेस सरकारमा भए पनि नागरिकले त्यसको आभाष पाउन सकेका छैनन् ।’
गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले पार्टीको केन्द्रीय नेतृत्व र जिल्ला सभापतिको भेट चिठीपत्रमा मात्रै हुने अवस्थाको अन्त्य गर्न ढिला गरेको बताए ।
बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वर्षा र बाढी पहिरो लगायतका विविध कारणले उपस्थित हुन नसकेका जिल्ला सभापतिहरूलाई जुममार्फत बैठकमा जोडिएको थियो ।
छलफलमा जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), नारायणप्रसाद गौडेल (बाँके), दीपक खड्का (संखुवासभा), पूर्णबहादुर तामाङ ‘कान्छाराम’ (रामेछाप), रामनाथ अधिकारी (धादिङ), बर्मा लामा (दोलखा), राजु थापा (स्याङ्जा), केशव श्रेष्ठ (अर्घाखाँची), रामकृष्ण खाण (रुपन्देही)ले धारणा राखेका छन् ।
खिलध्वज पन्थी (गुल्मी), केशरमान रोका (रुकुम पूर्व), कार्यबाहक सभापति चन्द्रबहादुर राना (नवलपरासी पूर्व), जीतेन्द्रकुमार श्रेष्ठ (ललितपुर), बुद्ध लामा (मकवानपुर), ऐनबहादुर शाही (मुगु), पुष्पबहादुर शाह (अछाम), मणिराम रेग्मी (दैलेख), रामसिंह रावल (बाजुरा), शंकरप्रसाद डाँगी (दाङ)लगायतले पनि धारणा राखेका छन् ।
नरेन्द्रबहादुर सिंह (डोटी), सुरेन्द्रप्रसाद सिंह (सर्लाही), पेम्बाछिरिङ तामाङ (रसुवा), रामदेव साह (सप्तरी), का.वा. सभापति खड्ग बी.सी. (जाजरकोट), सबुज बानियाँ (काठमाडौं), रामचन्द्र यादव (सिरहा) र जीत शेरचन (बाग्लुङ) ले आ–आफ्नो धारणा राखेका छन् ।
बैठकमा धारणा राख्ने क्रम जारी छ । शुक्रबार असार २२ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको बैठक पुन: बस्नेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया