लेखकले तर्कसहित कुरा राखेपछि ओली र एमालेहरुलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई सुध्रिन सुझाव दिएका छन् ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले आफूले मात्र राम्रो काम गरेको भन्ने मानसिकता त्याग्न ओलीलाई आग्रह गरेका छन् ।

उनले एमाले अध्यक्ष ओलीको नाम नलिई आफूबाहेक अरु नालायक हुन् भन्ने मानसिकता त्याग्न आग्रह गरेका हुन् ।

लेखकले भने, ‘मैले मात्रै गरेँ, सबै कुरा गरेँ । म बाहेकका सबै नालायक हुन्, निकम्मा हुन्, बेठीक हुन् भन्ने मनस्थितिबाट पनि हामी सबै मुक्त हुनुपर्छ ।’

‘अमुक दुई वर्षमा, अमुक तीन वा चार वर्षमा सारा कामहरु भएका थिए’, लेखकले भने, ‘त्योभन्दा अगाडि पनि केही भएन, त्यो भन्दा पछाडि पनि केही भएन भन्ने मनस्थितिबाट समेत मुक्त हुनुपर्छ ।’

नेता लेखकले कतिपय नेताले ब्रम्हाण्डको रचना पनि आफ्नै कालमा भएको हो भन्न मात्र बाँकी राखेको बताए । ‘कतिपय नेताले बोल्दै गर्दा त अब भन्नुहुन्छ भन्नुहन्छ लाग्छ– यो तीन वर्षमा ब्रमाण्डको रचना पनि त्यसै बेला भएको हो । त्यो भन्दा अगाडि ब्रमाण्ड थिएन भन्ने मात्रै छृुटाउनु हुन्छ र अरु सबैले केही गरेन भन्ने ठान्नुहुन्छ’, उनले भनेका छन् ।

लेखकले भने, ‘एक पटकको नीति कार्यक्रम पढ्दै थिएँ कञ्चनपुर जिल्लाबाट पानी जहाज चढेर डडेलधुरा हुँदै बैतडी भएर दार्चुला पुगेको अनुभूति गरेँ । मलाई बडो स्वर्गको अनुभुति जस्तो भयो । पानी जहाज पनि चानचुने होइन, नर्वेजियन क्रुज जस्तै होला भन्ने अनुमान गरेँ ।’

नीति तथा कार्यक्रमबाट झसङ्ग भएर यथार्थमा आउँदा दार्चुलामा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको लेखकले बताए । ‘जुन दिन हाम्रो यथार्थ र वास्तविकतामा झरेँ त्यस दिन त्यो महाकाली नदिनमा म जस्ता मान्छेहरु पानी जहाज चढेको होइन, जयसिंह धामी तुइनबाट लडेर त्यही महाकाली नदीमा डुबेर मरे’ उनले भने ।

उनले भने, ‘सभामुखको आसनको दाहिनेतर्फका छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ । सबै कुरा राम्रो देखिन्छ, सबै कुरा गज्जब ।’

लेखकले भने, ‘समय, परिस्थिति र संयोगले त्यो कुर्सी भन्दा दुई मिटर उता गएर अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ । यो मानसिकता र मनस्थितिबाट मुक्त यदि हामी हुन सकेनौं भने नीति तथा कार्यक्रम जतिसुकै निबन्धमा लेखे पनि त्यो कार्यान्वयन हुँदैन । नेपाली जनतासम्म पुग्न सक्दैन ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका अस्पताल बालुवाटारबाट उद्घाटन गरेको भन्दै नेता लेखकले ती अस्पतालको अवस्था के छ भनेर प्रश्न गरे । ‘काठमाडौंमा एकै बटम च्यापेर ७५३ ठाउँमा अस्पताल पुर्‍यायौं’, सांसद लेखकले प्रश्न गरे, ‘आज ती अस्पतालमा कति नेपाली जनताले उपचार पाइराखेका छन् ? कति भवन बनेका छन ? कति मानिसहरु काम गरिराखेका छन् ?’

Published : Sunday, 2023 May 28, 6:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया