‘भूमिगत गिरोह’ले प्रहरीको बदनाम गरायो, कसले बनायो आईजीपी कुँवरलाई फाल्नेसम्मको योजना ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलाई जोडेर नेपाल प्रहरीभित्रको ‘भूमिगत गिरोह’ले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरविरुद्ध गतिविधि गरिरहेको छ ।

विदेशीहरूको पैसा खाएर सञ्चालनमा रहेका केही वेबपोर्टलहरूमा प्रहरीभित्रको ‘गिरोह’ले आईजीपी कुँवरका विरुद्ध समाचार लेखाएपछि त्यो रहस्य बाहिर आएको छ । ‘गिरोह’ले आफ्नो गुणगान गर्न लगाएर समाचार लेखाएको छ ।

त्यो समाचार कसले लेखाएको हो भन्ने कुरा प्रष्ट बुझ्न र देख्न सकिने एक प्रहरी अधिकृतले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा ती प्रहरी अधिकृतले भने, ‘केही अनलाइन र पत्रपत्रिकामा नक्कली भुटानी शरणार्थी प्रकरणको समाचार आइरहेका छन् । मुद्दा दर्ता हुनुभन्दा अगाडि नै समाचार आउने गरेका छन् । त्यसमा पनि केही उच्च प्रहरी अधिकृतहरूको बयान र गुणगान गाएर लेखिएका समाचार कसले लेखाएको हो प्रष्टै थाहा हुन्छ ।’

समाचारमा काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनका प्रहरी प्रमुख (एसएसपी) मनोजकुमार केसीको निकै गुणगान गरिएको छ । एसएसपी केसीले त्यो समाचार लेखाएका हुन् भनेर भन्ने प्रमाण फेला नपरे पनि समाचारको भाव प्रहरी हेडक्वाटरले राम्रोसँग बुझेको छ ।

आईजीपी कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणको सफलताको सबै जस एसएसपी केसीलाई दिनु होला । किन भने केसीले नै सबै काम एक्लै फत्तै गरेको भन्ने भावसहित त्यो समाचारमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जबरजस्त रुपमा जोडेर आईजीपी कुँवरको बदनाम गरेर हटाउनेसम्मको योजना ‘गिरोह’ले बनाउनु भनेको अपारध हो । त्यो अपराध गर्ने ‘गिरोह’का बारेमा हेडक्वाटरले हिसाब किताब राखेकै होला । त्यो भूमिगत ‘गिरोह’ले आफूलाई मन नपरेका राजनीतिक दलका नेताहरूको नाम पनि जबरजस्त रुपमा समाचारहरूमा लेखाएको भनेर आरोप लागेका छन् ।

स्रोतले भन्यो, ‘बसन्तबहादुर कुँवर आईजीपी बनेको केही उच्च अधिकृतहरूलाई मन परेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा बदनाम गरेर, मुछेर निलम्बन गरेर कारबाही गरि आईजीपी बन्न पाइन्छ कि भनेर गिरोह लागेको छ ।’

आईजीपी कुँवरका विरुद्ध विदेशीको दानापानीबाट चलेका केही वेबपोर्टलहरूमा आफ्नो इच्छाअनुसारको समाचार लेखाउने प्रहरीलाई हेडक्वाटरले कारबाही गर्नुपर्छ । उनीहरूलाई गोपनीयता चुहाएको, चेन अफ कमाण्ड तोडेको, प्रहरी संगठनको बदनाम गरेको, अनुशासन तोडेको लगायतका कसूरमा कारबाही गर्नुपर्ने सुझाव छ । प्रहरी हेडक्वाटरले कारबाही गर्ने आँट गर्छ वा गर्दैन हेर्न बाँकी छ । हेडक्वाटरले निर्मम तरिकाले आफूलाई खरो उतार्नुपर्छ । होइन भने भविष्यमा नेपाल प्रहरीको यस्ता भूमिगत गिरोहले निकै बदनाम गराउनेछन् ।

प्रहरीको हेडक्वाटरद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा पनि समाचारको खण्डन गरिएको छ । आईजीपी कुँवरका विरुद्ध लेखिएका कुराहरूप्रति आपत्ति जनाइएको छ । समाचार गतल रहेछ भन्ने कुरा हेडक्वाटरको विज्ञप्तिले पुष्टि नै गरिसकेको छ ।

हालका आईजीपी कुँवर एसएसपी रहेका बेला काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनको प्रमुख रहेका थिए । त्यस बेला नक्कली भुटानी शरणार्थीको फाइल बनाएर अनुसन्धान कुँवरले नै शुरु गरेका थिए । कुँवरले नै दोषीहरूलाई पक्राउ गरेर कारबाही गरेको विषयलाई तोडमोड गरेर गिरोहले आफू अनुकूल गर्न खोजेको छ । अहिले आएर कुँवरमाथि मनगढन्ते लाञ्छना लगाएर प्रहरीकै उच्च अधिकारीहरूले समाचार लेखाउनु कदापि राम्रो कार्य नरहेको टिकाटिप्पणी भएका छन् ।

Published : Wednesday, 2023 May 24, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया