कांग्रेसका चौरसियाले नाम लिएका थिएनन्, तैपनि लामिछानेको सातोपुत्लो उड्यो, औकात देखाए

काठमाडौं । नेपाली कांग्रेसका सांसद अजय चौरसियाले दोहोरो नागरिकताको विषयमा कसैको नाम नलिएर कुरा उठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौरसियाले कसैले दोहोरो नागरिकता बोक्दा पनि कारबाही नहुने, कसैलाई नागरिकता नभएर मधेशका जनताले दु:ख पाएको भनेर कुरा उठाएका थिए । चौरसियाले दोहोरो नागरिकता र राहदानी लिने अधिकार कसैलाई नरहेको बताएका हुन् ।

सांसद चौधरीले कुरा उठाएपछि रास्वपाका सांसद समेत रहेका सभापति लामिछानेले आपत्ति जनाउँदै अदालतमा विचाराधीन रहेको विषयमा कुरा उठाउन नपाइने बताएका थिए । सभामुख देवराज घिमिरेले लामिछानेलाई साथ दिँदै अदालतमा विचाराधीन रहेको कुरा संसदमा उठाउन नपाइने रुलिङ गरेका थिए ।

रास्वपाका सांसदहरू पटक पटक आफ्नो सिटमा उठेर विरोध गरेका थिए । दोहोरो नागरिकता बोकेकै कारण लामिछानेले सांसदसहितका सबै पद गुमाउनु परेको थियो । अहिले पनि दोहोरो राहदानी लिएको अभियोगमा अदालतमा मुद्दा परेको छ ।

कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना, रामहरि खतिवडासहितका सांसदले पनि रास्वपाका सभापति तथा सांसद लामिछानेको हर्कतको विरोध गरेका थिए ।

नागरिकता काण्डमा परेका लामिछानेको नाम कांग्रेसका सांसद चौरसियाले लिएका थिएनन् । तर, चोरको खुट्टा काट् भन्दा चोरले आफ्नो खुट्टा आफै ताने जस्तो गरेर लामिछाने र रास्वपाका सांसदहरूले हर्कत देखाएका छन् ।

आफ्नो आलोचना सुन्नै नसक्ने रास्वपाका सभापति तथा सांसद लामिछाने र उनका सांसदहरूको हर्कत संसदभित्र हेर्न लायकको थियो ।

Published : Wednesday, 2023 May 24, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया