सभापति लामिछानेविरुद्ध दरपीठ भएको रिट दर्ता, बलियो आधारसहित सांसद पद खारेजीको माग

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता युवराज पौडेलले लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरिपाउँ भनेर दिएको रिट निवेदन दर्ता भएको छ ।

लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको जनाएको छ । रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ ।

रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उप–निर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुन: प्राप्त भएको मान्न सकिँदैन ।’

नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले लामिछानेको प्रतिनिधि सभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ भनेर निवेदन दिइएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।

रिट वैशाख २५ गते नै सर्वोच्च अदालतमा पेस भएको थियो । रिटलाई सर्वोच्चका रजिष्ट्रारले दरपीठ गरिदिएका थिए ।

वैशाख २८ मा भएको दरपीठविरुद्ध पौडेलले जेठ २ मा इजलासमा नै निवेदन पेस गरेका थिए ।

दरपीठको आदेशलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बदर गरी रिट दर्ता गर्न आदेश दिएका थिए ।

रिट निवेदनमा उठाएका विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको भन्दै भन्दै न्यायाधीश श्रेष्ठले रिट दर्ता गर्न आदेश दिएका छन् । उक्त आदेशपछि बुधबार रिट दर्ता भएको हो ।

Published : Wednesday, 2023 May 24, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया