नक्कली भुटानी प्रकरणमा ओलीका पिएलाई १ करोड, बादललाई ३ करोड, केशवको बयानले बालकोटभित्र तनाब

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके केशव दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ३ करोड रुपियाँ बुझेको बयान प्रहरी समक्ष दिएका छन् ।

सञ्चारमाध्यमहरूलाई प्राप्त भएका दुलालको बयानमा थापाले ‘तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई ३ करोड लिएको आरोप लगाइएको छ ।

तत्कालीन गृहमन्त्री थापा राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगद बुझेको दुलालको दाबी छ ।

प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रू. १ करोड बुझीलिएको दुलालको बयानमा उल्लेख छ ।

त्यसैगरी तत्कालीन गृहसचिव प्रेमकुमार राईले डा.इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगद बुझीलिएको दाबी दुलालले गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत बोलाएर २०७६ साल असोजमा १ करोड नगद बुझीलिएको आरोप दुलालले बयानमा लगाएका छन् ।

दुलालको बयानमा भनिएको छ, ‘तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।’

दुलालको बयानमा भनिएको छ, ‘त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरूको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।’

उनले बयानमा भनेका छन्, ‘काम नभएपछि पटक–पटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरूको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको ।’

तपाईंहरूले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरूसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरूसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भनेर प्रतिवादी केशवप्रसाद दुलालले प्रहरी समक्ष बयान कागज गरेको बुझिएको छ ।

Published : Tuesday, 2023 May 23, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया