जितजंग बस्नेतले यसरी खोले ओली-राधिका-राजेश-महेश र रविहरूका भ्रष्टाचारका कर्तुतहरू, महेशको फाइल बनाएको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नक्कली भुटानी शरणार्थीको केशमा निर्दोषलाई फसाउने र दोषीलाई बचाउने काम कहिँ कतैबाट हुन नहुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘भुटानी शरणार्थीको कुरा आएको छ । दोषी कोही पनि छुट्नु हुँदैन । निर्दोषलाई पारिनु हुँदैन । त्यो जतासुकै नेता होस् ।’

नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गरेर दुई वटा नागरिकता र दुई वटा राहदानी बोकेका नेताहरूले भ्रष्टाचार विरोधी कुरा गरेको नसुहाएको बताएका छन् ।

उनले भने, ‘दुई वटा नागरिकता र दुई वटा राहदानी बोकेको मान्छे जेल जान नपर्ने ? कालो कोट र कालो चश्मा लगाएर त्यो भ्रष्टाचार हो भनिदिने ।’

नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका नेता बस्नेतले एमालेका नेता महेश बस्नेतले भ्रष्टाचार विरोधी कुरा गरेर कांग्रेसमाथि हिलो छ्यापेको विषयको विरोध गरेका छन् ।

उनले भने, ‘पुलिसको सरुवा बढुवा गरेर खाने त्यही महेश बस्नेत होइन ? हामीले चिनेका छैनौँ ? तपाईको फाइल हामीले बनाएका छैनौं ? म अध्यक्ष हुँदा तपाईको फाइल तरुण दलले बनाएको थियो ।’

‘भ्रष्टाचारका कर्तुतहरू तपाईका केपी ओलीको सरकारमा गरेका भ्रष्टाचारका कर्तुतहरू हाम्रोमा छन्’, बस्नेतले भने, ‘महेश बस्नेतलाई भक्तपुरका जनताले किन मत हालेनन् आफै मनन गर्नुस् ।’

उनले भने, ‘तपाईले जहिले पनि गुण्डागर्दी गर्नु हुन्छ । जहिले पनि भ्रष्टाचार गर्नु हुन्छ । केपी ओलीको दाहिने हात बनेर काम गर्नु हुन्छ ।’

‘हामीलाई थाहा छैन ? तपाईले गरेका कर्तुतहरू’, उनले भने, ‘हनुमन्ते खोला भू–माफिया मिलेर बहाब परिवर्तन गराउने कार्य गरेर त्यसबाट पैसा खाने । भू–माफियाहरूसँग मिलेर जग्गामा पैसा खाने ।’

‘हामीलाई प्रहार गर्ने ? पुलिस प्रशासनको दलाल बनेर प्रमोशनमा पैसा लिएर पैसा खाने महेश बस्नेत होइन’, उनले भनेका छन् ।
कांग्रेस नेता बस्नेतले भनेका छन्, ‘आज भुटानी शरणार्थीको केश आएको छ । दोषी कोही पनि छुट्नु हुँदैन । निर्दोषलाई परिनु हुँदैन । त्यो जता, जुनसुकैको नेता होस् । तर, दोषीको नाममा कोही पर्न सकेको छ ?’

‘अख्तियार प्रमुखको नाम पोल्न सकेको छ ? दलालहरूले उसको गाडीमा दुई करोडभन्दा धेरै रकम राखेको छ’, उनले भने, ‘कोही बोल्न सकेको छ ? नेपाली कांग्रेसका नेताहरू किन बोल्दैनन् ?’

उनले भने, ‘केपी ओलीको वाइफ राधिका शाक्य हामी पनि सम्मान गर्छौं । उहाँ फस्ट लेडी हो । तर उहाँको संस्था मानव सेवा आश्रम दलालले दिएको दुई करोड पचास लाखको विषयमा आज कोही पनि बोल्दैनन् ?’

‘महेश बस्नेतले विर्सनु भयो दुई करोड ५० लाख त्यो आश्रमलाई दिएको । त्यसको संरक्षक राधिका शाक्य केपी ओलीको वाइफ हुनुहुन्छ’, उनले भने, ‘त्यसको अध्यक्ष अजयक्रान्ति (शाक्य) भन्ने व्यक्ति हुनुहुन्छ । त्यो विषयमा तपाई किन बोल्नु हुन्न ।’

उनले भने, ‘हामीलाई थाहा नभएको कुरा हो ? त्यति मात्रै होइन केपी ओलीको आफ्नै पिए राजेश शाक्यको नाममा पाँच लाख खाएको कुरा छ ।’

‘त्यो किन कुरा आउँदैन ? त्यसैले कोही पनि चोखिनु हुँदैन । त्यो ठूलो दुर्भाग्य हुनेछ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

Published : Sunday, 2023 May 21, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया