‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू

काठमाडौं । चुनावका बेला अन्तर्घात गरेर आधिकारिक उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको आरोप लागेका नेपाली कांग्रेसका करीव एक दर्जन नेताहरू रुपान्तरण अभियान शुरु गरेका छन् ।

कांग्रेसलाई रुपान्तरण गर्ने भनेर अभियान चलाएका नेताहरूको बिगतको राजनीतिक इतिहाँस गतिलो छैन । ती सबै अन्तर्घातीका रुपमा कारबाही सिफारिसमा परेकाहरू छन् । उनीहरूलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप छ । अर्थत् रुपान्तरण अभियानमा लागेका नेताहरू घण्टी कांग्रेसका रुपमा परिचित छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्द पोख्रेल, मधु आचार्य, नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, सुवास पोखरेल, विनोद कायस्थ, भुपेन्द्रजंग शाही, भरत खड्कालगायतका नेताहरू रुपान्तरण अभियानमा अग्रभागमा देखिएका छन् ।

डा.गोविन्द पोखरेलले गठबन्धनका उम्मेदवारहरूलाई हराएर एमालेका सूर्य थापालाई जिताएका अन्तर्घाती हुन् । डा.पोखरेल कांग्रेसको नामबाट धेरै व्यक्तिगत लाभ लिने नेतामा परिचित छन् ।

डा.पोखरेल प्रतिनिधि सभाको चुनावका बेला झण्डै कांग्रेसलाई छाडेर एमालेबाट दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बन्न खोजेका थिए । विगतमा जनमोर्चामा रहेका डा.पोखरेललाई उनका ससुराले कांग्रेसमा प्रवेश गराएर बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए । बैकल्पिक उर्जामा डा.पोखरेलले अकुत कमाइ गरेको आरोप छ । त्यसपछि डा.पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, भूकम्प प्राधिकरणको निर्देशक, प्रधानमन्त्री सुशील कोइरालाको सल्लाहकार लगायतको पदमा बसेर लाभ लिएका छन् ।

मधु आचार्य प्रतिनिधि सभामा काभ्रेका उम्मेदवार शिव हुमागाईंलाई अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका नेता हुन् । आचार्यले गुटको नाममा काभ्रेपलाञ्चोकमा कांग्रेस सिध्याउने नेताका रुपमा ठूलो परिचय बनाएका छन् ।

गुरुराज घिमिरेले पनि गुटका नाममा कोइराला परिवारबाट धेरै अवसर पाएका नेता हुन् । उनी नेविसंघको टीके अध्यक्ष हुनेदेखि विभिन्न लाभ पाउनेमा पर्छन् । १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापतिमा पराजित अनुहार हुन् ।

भुपेन्द्रजंग शाही नेपाल तरुण दलको महासचिव रहेका बेला कारबाहीमा परेका नेता हुन् । जागरण अभियानका बेला पार्टीको नीति विपरितका हर्कत गरेपछि शाहीलाई महासचिव पदबाट अपदस्थ गरिएको थियो । शाही कर्णाली कांग्रेसको सभापतिमा नराम्रोसँग पराजित अनुहार हुन् । रामचन्द्र पौडेल शान्ति मन्त्री बनेका बेला शाहीले द्वन्द्वपीडितहरूको नाममा अकुत कमाइ गरेको आरोप छ । शाहीले काठमाडौं उपत्यकाभित्र थुप्रै जग्गा जोडेर राखेका छन् । शाही आर्थिक मामिलामा कमजोर छन् ।

नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण समानुपातिकका पूर्वसांसद र नेविसंघका टीके अध्यक्ष हुन् । पार्टीको १४औँ महाधिवेशनमा सह–महामन्त्री ताकेका थिए । गुटबाट सह–महामन्त्रीको टिकट नपाएपछि कर्णले गुटै सह–महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई अन्तर्घात गरेर हराइदिएका थिए ।

सुवास पोखरेल पनि अन्तर्घातीका रुपमा परिचित छन् । उनले पार्टीको महाधिवेशनका बेला नेता शेखर कोइरालासँग दश लाख रुपियाँ लगेर खोटाङमा आफैले खाएको आरोप छ ।

तेस्रो गुटमा उदाएको घण्टी कांग्रेसले प्रदेश तहदेखि देशबाहिरसम्मको जिम्मेवारी लिएर भेला तथा अन्तक्रिया गर्दैछन् । घण्टी कांग्रेसको कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेल औपचारिक रुपमा देखिएका छैनन् । तर, उनीहरूले भित्रभित्रै समर्थन र सहयोग गरेको चर्चा छ ।

घण्टी कांग्रेसको अभियोग लागेका उनीहरूले अभियानमार्फत तेस्रो गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको आरोप छ । घण्टी कांग्रेस र अन्तर्घातको आरोप लागेका यी नेताहरूसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Thursday, 2023 May 18, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया