देउवा सरकारले ओलीले जस्तो काण्ड गर्दैन, ढुक्क हुनुस् : कांग्रेस नेता तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिनाले एमसीसीका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् ।

नेता तिमिल्सिनाले एमसीसीको केही तत्वले गलत रुपमा ब्याख्या गरेर बद्नाम गरिरहेको बताए । उनले भने, ‘एमसीसी गलत छैन । मैले पनि एमसीसीको विषयमा अध्ययन गरेको छु । विज्ञहरूसँग परामर्श लिएको छु । गलत कुरा केही पनि छैन ।’

व्यक्तिगत स्वार्थका लागि सानो समूहले कसैको उक्साहटमा एमसीसीको विरोध गरेको बताएका उनले भने, ‘अमेरिकाले अनुदानका रुपमा दिएको सहायतालाई छिटोभन्दा छिटो ल्याउनुपर्छ ।’

नेता तिमिल्सिनाले एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भएकोमा असन्तुष्टि जनाएका छन् । ‘अनुदानको सहायता ल्याउनुपर्छभन्दा शेरबहादुर देउवालाई राष्ट्रवादसँग जोडेर आलोचना गरिएको छ’, उनले भने, ‘जसले प्रजातन्त्र, देश र जनताका लागि ठूलो योगदान गरेको छ, त्यो नेतामाथि राष्ट्रियताको प्रश्न उठाइन्छ । कहिल्यै राष्ट्रवादी नभएका कम्युनिस्टहरूलाई राष्ट्रवादी भन्ने गरिन्छ ।’

कांग्रेस नेतत्वको गठबन्धनको सरकारले विगतको दुईतिहाइको सरकारले जस्तो कुनै पनि गलत काम नगरेको उनले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले जस्तो सरकारी सम्पत्ति कौडीको भाउमा व्यापारीलाई दिने कार्य अहिलेको सरकारले नगरेको तिमिल्सिनाले बताए ।

‘अहिलेको सरकारले ओलीले जस्तो ओम्नी काण्ड गरेको छैन । दरबार संग्राहलयको जग्गा भाडामा लगाएको छैन । नेपाल ट्रष्टको सरकारी सम्पत्ति कौडीको भाउमा दिएको छैन । कमिशन खाएको छैन’, उनले भने, ‘सरकारले खोप ल्याएर जनतालाई दिइरहेको छ ।’

Published : Sunday, 2022 January 16, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया