अष्ट्रेलियामा विद्यार्थीलाई काम गर्ने समय बढाइदिन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले भेटवार्ता गरेकी छिन् ।

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका छन् ।

नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि गृहमन्त्री खाणले राजदूत भोल्कसँग आग्रह गरेका छन् ।

मन्त्री खाणले पढाइका अलावा नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने गरेकामा त्यो समय बढाउन पनि आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिएका थिए ।

Published : Sunday, 2022 January 16, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया