कांग्रेस नेता खतिवडाद्वारा ‘प्रेम–योगेश’को भण्डाफोर, कम्युनिस्टलाई अकौतामा बस्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रेम आले र योगेश भट्टराई सञ्चारमाध्यममा दोहोरी खेलेर जगत हँसाएको टिप्पणी गरेका छन् ।

नेता खतिवडाले ५० अर्ब घाटामा रहेको नेपाल वायु सेवा निगमलाई नाफामा कसरी लैजान सकिन्छ भने सोँच्न बेला व्यापारीलाई अपमान गरेर अर्थतन्त्रमा असर पर्ने कार्य गरिएको बताएका हुन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई व्यापारी र कर्मचारीलाई गाली गरेर कसरी काम गर्छन् भनेर प्रश्न गरेका छन् ।

‘नेपाल वायु सेवा निगम ५० अर्ब ऋणमा छ । निगम घाटामा छ । त्यसलाई कसरी तिर्ने हो ? घाटा कसरी घटाउने हो भन्ने चिन्ता कसैलाई पनि छैन’, खतिवडाले भने, ‘कसैलाई प्लेन किनेर कमिशन खाने रहर हुन्छ ।’

उनले भने, ‘प्लेनहरू ल्याएर थन्काएर राखिएका छन् । चलाइएको छैन । ५० अर्ब घाटालाई २० अर्बमा कसरी झार्ने हो भन्ने सोँच छैन । ल्याएका प्लेनहरू एक ठाउँमा राख्ने, फेरि अर्को प्लेन किन्ने ?’

‘प्लेन किनेर ल्याउँदा पनि क–कसका पार्टनरहरू नियुक्ति गर्ने भन्ने चलखेल ? कसैलाई चार्टर प्लेनमा कमिशन खानुपर्ने ? आफ्ना मान्छे नीति परिवर्तन गरेर भए पनि राख्नुपर्ने ?’, खतिवडाको प्रश्न छ ।

‘कसैलाई खाली जग्गा र ठाउँहरू देख्यो भने पुस्तालाई सम्पत्ति जोड्नेतिर लाग्छन् । यिनीहरू नै जुहारी गर्दै हिँड्छन्, दुइटा मान्छेहरू । एकले अर्कालाई दोष दिएर जुहारी खेलेर लोक हसाँउनेतिर लाग्छन्’, कांग्रेसका नेता खतिवडाले भनेका छन् ।

‘बिडम्बनापूर्णको राजनीति हुन थाल्यो । पर्यटन मन्त्रीले नेपाल एयरलाईन्सलाई सुधार्ने काम गरेको देख्नुपर्ने थियो । देखिएन’, पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘अनि व्यापारीलाई गाली गर्छन् । व्यापारीको त पेशा हो । बतासलाई टेण्डर गरेर बोलाएपछि उ गएको हो । सिधै गएको होइन । गएको हो भने पनि सेटिङ गराउने मन्त्रीहरू दोषी हुन् । बतास दोषी होइन ।’

‘दुइटा मन्त्रीहरू, एउटा बहालवाला मन्त्री, अर्को पूर्वमन्त्री वक्तव्यवाजीमा उत्रिएका छन् । उनीहरूले अन्तर्वार्ताहरू प्रतिस्पर्धात्मक रुपमा दिएका छन् । अत्यन्तै दुखद् छ’, खतिवडाले भनेका छन् ।

‘उनीहरू तल्लो तहमा उत्रिएर गाली गलौजमा गर्छन् । कसरी मुलुक चलाउने होलान् ?’, उनले भनेका छन् ।

‘व्यापारीलाई दोषी दिने काम भएको छ । हतार गरेर भत्काउनेभन्दा अध्ययन प्रतिवेदन बनाएर दोषीलाई कारबाही गरेर जानुपर्छ’, खतिवडाले भने, ‘कुनै बेला बत्ती काट्ने काम गोकर्ण विष्टले गरेका थिए । प्रेम आलेले अहिले फेरि भत्काउँदै हिँड्छन् ।’

पर्यटनमन्त्री आलेले दरबार संग्राहलयभित्र देखाएको जात्रा र व्यापारीमाथि गरेको अभद्र व्यवहारको आलोचना हुन थालेको छ ।

बतास समूहलाई भन्दा पनि त्यस बेलाको मन्त्री र कर्मचारीलाई कारबाही गर्नुपर्ने माग उठेका बेला कांग्रेसका नेता खतिवडाले पनि व्यापारीलाई भन्दा पनि सेटिङ मिलाउने मन्त्री र कर्मचारीलाई कारबाही गर्न सुझाव दिएका छन् ।

Published : Saturday, 2022 January 15, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया