माघी पर्व सामाजिक सदभावको उदाहरण : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माघी पर्व सामाजिक सदभावको उदाहरण भएको बताएका छन् ।

शनिबार देउवाले माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै विशिष्ट पहिचान भएको माघी सामाजिक सदभावको उदाहरण भएको बताए । उनले माघी पर्वले सबैलाई सुःख र समृद्धि दिने विश्वास लिएको जनाएका छन् ।

देउवाले माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गरेका छन् ।

उनले पारस्परिक सदभाव र संहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताएका छन् ।

शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

Published : Saturday, 2022 January 15, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया