‘मेडिकल माफिया’लाई मन्त्रीकै अगाडि कालो मोसो दलेर बदला लिए

काठमाडौं । ‘मेडिकल माफिया’को आरोप खेप्दै आएका काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका मालिक सुनिल शर्मालाई विद्यार्थीले कालो मोसो दलेका छन् ।

शुक्रबार सिंहदरबारभित्र शर्मालाई विद्यार्थीले कालो मोसो दलेका हुन् । मेडिकल कलेजका मालिक शर्माले सरकारले तोकेभन्दा धेरै चर्को शुल्क उठाएर विद्यार्थीलाई आजित बनाएका थिए । शर्माको कलेज र ज्यादतीविरुद्ध विद्यार्थीले निरन्तर आन्दोलन गर्दै आएका थिए ।

विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा छलफलका लागि शिक्षा मन्त्रालय पुगेका थिए ।

छलफल सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले नमस्कार सरभन्दै शर्मालाई कालोमसो दलेर बदला लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शर्मालाई कालो मोसो दलेको जिम्मेवारी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले लिएको छ । युनियनका अध्यक्ष सुदेश पराजुलीले घटनाको जिम्मा लिएका छन् ।

माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्जा सिंहले पनि संयुक्त विद्यार्थी संघर्ष समितिले कालोमोसो दलेको बताएकी छिन् ।

उनको मेडिकल कलेजले चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघसहित ७ विद्यार्थी संगठन पीडित विद्यार्थीसँगै आन्दोलनमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयसहित शर्मालाई छलफलमा बोलाएका थिए ।

छलफलमा अतिरिक्त शुल्क लिन नपाइने, होस्टल अनिवार्य गर्न नपाइने लगायतका निर्णय भएको छ ।

मेडिकल कलेजका मालिक शर्माले उक्त निर्णय नमान्ने भन्दै निर्णयमा फरक मत लेखाएका थिए । त्यसपछि रिसाएका विद्यार्थीले कालो मोसो दलेका हुन् ।

प्रहरीले शर्मालाई कालो मोसो दलेको भन्दै केही विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ ।

Published : Friday, 2022 January 14, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया