स्वास्थ्य मन्त्री गिरोहको पछाडि लागेर कोरोनाविरुद्ध काम नगरेपछि कांग्रेसले सचेत गरायो

काठमाडौं । नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप दिन माग गरेको छ ।

बिहीबार कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई ८ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएकी छिन् ।

सचेतक भुसालले कोरोनाको परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न माग गरेकी छिन् ।

‘बृद्ध–बृद्धा, दीर्घरोगी र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्नुपर्छ’, कांग्रेसले भनेको छ ।

नेपालमा तत्काल सबै नागरिकसामु खोप–बुष्टर पु¥याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप/बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पु–याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिन कांग्रेसले माग गरेको छ ।

‘नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरिका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्नुपर्छ’, मागपत्रमा उल्लेख छ ।

‘स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवम् कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा÷राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्नुपर्छ’, भुसालले भनेकी छिन् ।

‘नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने’, कांग्रेसले भनेको छ, ‘कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने र गराउनुपर्छ ।’

‘कोरोनाभाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न÷गराउन, कडाईका साथ पहल गर्ने–गराउने’, मागपत्रमा भनिएको छ ।

माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

स्वाथ्यमन्त्री बिरोध खतिवडा छन् । खतिवडाले कोरोनाविरुद्धका रणनीति बनाउनेदेखि खोप दिने विषयमा ढिलाइ गरेको गुनासाहरू आएका बेला कांग्रेसले स्वास्थ्यमन्त्रीलाई सचेत गराएको छ ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको काम गर्नुपर्ने बेला गिरोहको उक्साहटमा लागेर कर्मचारी सरुवामा लागेका छन् ।

Published : Thursday, 2022 January 13, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया