प्रहरीले साउदीबाट १७ वर्षपछि गोविन्दलाई कठालो समातेर ल्यायो

काठमाडौं । प्रहरीले १७ वर्षपछि ४० वर्षीय गोविन्द मगरलाई पक्राउ गरेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर जिल्लाको बेलका नगरपालिका–६ ठेगाना भएका मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।

मगरले २०६१ मंसिर १३ गते मानबहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो ।

मगरलाई आवश्यक कानूनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।

Published : Thursday, 2022 January 13, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया