ललितपुरमा कौडा खेल्ने गिरोह पक्राउ

काठमाडौं । प्रहरीले ललितपुर जिल्लामा कौडा खेलिरहेका ७ जनाको समूहलाई पक्राउ गरेको छ ।

मंगलबार बिहान ललितपुर महानगरपालिका–१५ ताल्छिखेलमा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने ३७ वर्षीय पवित्र महर्जन, ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय महेश श्रेष्ठ, ललितपुर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय विकास शाक्य रहेका छन् ।

ललितपुर महानगरपालिका–७ बस्ने ३२ वर्षीय सुमन महर्जन, बाराको गढीमाई नगरपालिका–४ वतन भई ललितपुर बस्ने २४ वर्षीय रोशनकुमार साह, चितवनको रत्ननगर नगरपालिका–४ घर भई ललितपुर बस्ने २९ वर्षीय विनोद नेपाल र धादिङको धुनिवेशी नगरपालिका–७ थाक्रे घर भई ललितपुर बस्ने २४ वर्षीय मनीष पण्डित रहेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद २ लाख १३ हजार ५ सय ४७ रुपियाँ र १६ वटा कौडासहित फेला पारी पक्राउ गरेको थियो ।

उनीहरू उपर जिल्ला अदालत ललिरपुरबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उता, सल्यान जिल्लाको शारदा नगरपालिका–२ खंलगा बस्ने ७० वर्षीय विश्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विश्व राई लगायत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ४७ हजार ३ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

Published : Wednesday, 2022 January 12, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया