सरकारद्वारा यी सचिवहरूको सरुवा

काठमाडौं । सरकारले केही सचिवहरू (विशिष्ट श्रेणी)को सरुवा गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक र प्रशासन पद थप गरेको छ । सरकारले ६ जना सचिवहरूको सरुवा गरेको छ ।

बागमती प्रदेश प्रमुखको सचिव किरणराज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

प्रदेश नं. २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । सचिव यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । सतर्कता केन्द्रको सचिवमा सुशीलचन्द्र तिवारीलाई सरुवा गरिएको छ ।

मन्त्रिपरिषदको कार्यालयमा प्राविधिक सचिव दरबन्दी खडा गरी सचिव रमेश सिंहलाई राखिएको छ ।

मन्त्रिपरिषदको कार्यालयमा रहेका खगेन्द्रप्रसाद नेपालका लागि विशेष पद सिर्जना गरिएको छ ।

मन्त्रिपरिषदको कार्यालयमा हाल ५ जना सचिव दरबन्दीमा रहेका छन् । सचिव शिशिरकुमार ढुङ्गाना (आर्थिक तथा पूर्वाधार विकास), लक्ष्मण अर्याल (प्रशासन र नतिजा व्यवस्थापन), रामप्रसाद थपलिया (प्रादेशिक समन्वय र सामाजिक विकास), सूर्य गौतम (राष्ट्रिय सुरक्षा र सुशासन) र धनराज ज्ञवाली –कानून तथा मानवअधिकार) गरी जिम्मेवारी तोकिएको छ ।

शंकरदाश वैरागी मुख्यसचिवसहित ६ जना सचिव(विशिष्ट) श्रेणीका कर्मचारी कार्यरत छन् । रमेश सिंह र यामकुमारी खतिवडा गरी दुई जनालाई थपेसँगै ८ जनाको दरबन्दी कायम हुन पुगेको छ । सचिव मधुसूदन बुर्लाकोटीले मन्त्रिपरिषदको कार्यालयमा हाजिर गरिरहेका छन् ।

Published : Sunday, 2022 January 9, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया