झापामा ओलीले दिउँसै रातपारे, बालुवाटार चकित

दमक । तत्कालीन झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नारायणहिटी दरबार संग्राहलयभित्र रेस्टुरेन्ट चलाउन दिन गरेको निर्णयलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले रोक लगाएपछि आत्तिएका एमालेका अध्यक्ष खड्कप्रसाद ओलीले बचाउ गरेका छन् ।

आइतबार गृहजिल्ला झापामा ओलीले अहिलेको सरकारले नै वतास समूहलाई संग्राहलयभित्र रेस्टुरेन्ट चलाउन दिएको आरोप लगाए । उनले वर्तमान सरकारले नारायणहिटी दरबार संग्रहालय कप्लक्कै खाएको बताएका छन् ।

अहिलेको सरकारले नारायणहिटी खानका लागि बतास समूहलाई लिजमा दिइएको पनि ओलीको आरोप छ ।

एमालेका अध्यक्ष ओलीले नारायणहिटीमा क्याफे खोल्न दिने कुरामा सरकारको भ्रष्टाचारी अनुहार देखिएको बताए ।

‘अहिलेको सरकार देखि हाल्नु भयो कस्तो ? नाराणहिटी कप्लक्कै पारेको छ’, ओलीले भने, ‘हनुमानलाई खान जसरी मुख बाएका थिए, अहिलेको सरकारले २ सय कोषको मुख बाएको छ ।’

बतास समूहका अध्यक्ष आनन्द बतासले ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको भनेर दिएको अभिव्यक्तिको ओलीले खण्डन गरेका छन् ।

‘सञ्चार माध्यममा बोलाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनुभएछ’, उनले भने, ‘फोटो पनि खिचाउनुभएछ ।’

उनले भने, ‘मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्नेछन् अहिले सरकारमा ।’

आनन्द बतासले आफू प्रधानमन्त्री शेरबहादुर देउवाको निकट रहेको र झापाको भद्रपुर ससुराली भएका कारण एमाले अध्यक्ष ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको बताएका थिए ।

झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको प्रधानमन्त्री रहेका बेला ओलीको सरकारले नै बतास समूहलाई नारायणहिटीमा कफी शप खोल्ने अनुमति दिएको थियो ।

त्यस बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थिए । भट्टराईले नै ओलीको निर्देशनमा बतास समूहलाई संग्राहलयभित्र रेस्टुरेन्ट चलाउन दश रोपनी जमीन दिने निर्णय गरेको थियो ।

नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले रेस्टरेन्ट चलाउन पक्की भौतिक संरचना बनाएपछि रोक्न लगाएर छानविन समितिनै गठन गरेका छन् ।

देउवाको नेतृत्वमा सरकार बनेको एक वर्ष पनि भएको छैन । ओलीले दरबार संग्राहलयभित्र रेस्टुरेन्ट चलाउन र दरबारको जमीन खान अहिलेको सरकार लागेको तथा भ्रष्टाचार गरेको आरोप लगाएर दिउँसै रातपार्ने प्रयास गरेका छन् ।

पार्टीभित्र विवाद रहेका बेला नेता भट्टराईलाई मन्त्री आफूले बनाएको र धोका दिएर माधव नेपाललाई साथ दिएको भन्दै बैगुनी केटो समेत भन्न भ्याएका ओलीले आहिले आएर उट्पट्याङ कुरा गरेका छन् ।

Published : Sunday, 2022 January 9, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया