घोराहीमा महरा–शंकरलाई ठूलो धक्का, ३ सय युवा कार्यकर्ता कांग्रेसमा प्रवेश

घोराही । नेपाली कांग्रेस दाङमा एमाले र माओवादीका करीव ३ सय स्थानीय नेता कार्यकर्ता प्रवेश गरेका छन् ।

शनिबार घोराही उप–महानगरपालिकामा आयोजित दुई अलग–अलग कार्यक्रममा एमाले–माओवादी परित्याग गरेका करीव ३ सय युवा कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र कांग्रेसको लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले पार्टीमा स्वागत गरेका हुन् ।

एमाले र माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको सभापति शंकर डाँगीले जानकारी दिएका छन् ।

शनिबार घोराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा झण्डै १५० जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले सदस्यता प्रदान गरेर स्वागत गरेका हुन् ।

पूर्वसांसद समेत रहेका उप–सभापति खनालले नवप्रवेशीहरूलाई कांग्रेसमा भेदभाव नहुने बताए । उनले कम्युनिस्टले जस्तो कांग्रेसमा झुठको खेती नहुने बताएका छन् ।

कांग्रेस प्रवेश गर्नेमा त्रिभुवन बर्तौला, त्रिशक्ति बर्तौला, संजोग श्रेष्ठ, अनिल सन्त्याल, चेतलाल कुँवर, कृतन रेग्मीलगायत रहेका छन् ।

कार्यक्रममा दाङ कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेताहरू कमलकिशोर घिमिरे, भुपबहादुर डाँगी, बद्रीकुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।

उता, घोराही उप–महानगरपालिका–५ मा पनि एमाले र माओवादीका १ सय २० भन्दा धेरै स्थानीय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले नवप्रवेशीहरूलाई स्वागत गरेका हुन् ।

दाङमा माओवादीका कृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले जनतालाई झुक्काएर हैरान बनाएको भनेर आलोचना भइरहेका बेला पार्टी छाडेर उनीहरूका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Sunday, 2022 January 9, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया