देउवा सरकार व्यवसायहरूका लागि सबैभन्दा उपयुक्त : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले व्यवसायी र उद्योगीहरूका लागि शेरबहादुर देउवा नेतृत्वको सरकार सबैभन्दा उपयुक्त रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा सुनचाँदी रत्न आभुषण महासंघको ८औँ साधारण सभालाई सम्बोधन गर्दै पूर्वसांसद समेत रहेका खतिवडाले सरकारले व्यवसायी र उद्योगीहरूका लागि व्यवसाय गर्न उपयुक्त वातावरण बनाइदिने बताए ।

‘कांग्रेस नेतृत्वको सरकारले व्यवसायीहरूलाई लगानीको वातावरण बनाइदिन्छौँ’, उनले भने, ‘नियम, कानून अभाव छभने मिलेर बनाऔँ । निर्देशिका बनाएर रत्न आभुषण महासंघले काम गरोस् । कांग्रेस र अहिलेको सरकार सहयोग गर्न तयार छौँ ।’

नेपाल राष्ट्र बैंकको तथ्याङमा पहिला २० किलोसम्म सुन नेपाल आउने गरेको आफूले सूचना पाएको बताएका खतिवडाले अहिले १० किलो मात्रै आउने तथ्याङ्क पाउँदा आफूलाई दुःख लागेको बताए । उनले व्यापारीले कर र राजश्व तिरेर व्यापार गर्छुभन्दा सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘व्यापारी, वुद्धिजीवी सबैका लागि कांग्रेस नेतृत्वको अहिलेको लोकतान्त्रिक सरकार व्यवसायी र उद्योगीहरूलाई चाहिन्छ । कम्युनिस्टले कहिल्यै व्यापारीलाई सहुलीयत दिँदैन । सधैं असहयोग गर्छन् ।’

प्रधानमन्त्री देउवाले बोल्नेभन्दा पनि जनताका काम गर्ने गरेको बताएका नेता खतिवडाले भने, ‘हाम्रो प्रधानमन्त्रीको बोली नबुझिए पनि काम बुझिन्छ । कसै–कसैको बोली बुझिन्छ काम बुझिदैन ।’

केन्द्रीय सदस्य खतिवडाले नाम नलिएर तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली धेरै गफाडी भएको बताएका छन् ।

कांग्रेसको नेतृत्वमा संविधान बनाएकै कारण जनता र मुलुकलाई धेरै राम्रो भएको बताएका खतिवडाले कांग्रेसले नै निर्वाचन गराएका कारण तीन तहमा निर्वाचित सरकारहरू रहेको बताएका छन् ।

‘म कसैको आलोचना गर्न चाहँदैन । झण्डै दुईतिहाइको सरकार थियो । १५ सालमा वीपी कोइरालालाई पनि नभएको अवसर अहिलेको दुईतिहाइको सरकारलाई थियो’, खतिवडाले भनेका छन्, ‘उहाँहरूले काम गर्नुभएन । गफ मात्रै गर्नुभयो । जनतालाई झुक्काउनुभयो । काम गर्ने बेला हो । कुरा गर्ने बेला होइन ।’

ओलीतर्फ प्रश्न गर्दै खतिवडाले भने, ‘रेल ल्याउँछु भनेकै थिए । ग्यासको पाइप घरघरमा पु¥याउँछु भनेको होइन ? पानी जाहालको टिकट बाँडेको होइन ?’

कम्युनिस्टले दुईतिहाइ पाएर पनि सहज रुपमा शासन गर्न नसक्दा नेपालको अर्थनीतिमा अफ्ठ्यारो अवस्थामा पुगेको कांग्रेस नेता खतिवडाले बताएका छन् ।

‘नयाँ आय स्रोतहरू कम छ । नयाँ उद्योग खोल्न सकेका छैनौँ । पुराना उद्योग खोल्न सकिएको छैन’, खतिवडाले भने, ‘निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले रोजगारी दिन्छन् । एक–दुई महिना जागिर खान्छन् । स्थायी भएपछि मजदुरले कम्पनीनै कब्जा गरिदेला भन्ने डर हुन्छ ।’

Published : Sunday, 2022 January 9, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया