भोट नदिएकालाई पनि सभापतिले मनोनीत गर्नुभएको छ : विश्वप्रकाश शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउन नहुने बताएका छन् ।

बिहीबार इलाममा आयोजित पत्रकार सम्मेलनमा शर्माले संसद चल्न दिन एमालेसँग आग्रह गरेका छन् ।

‘मैले दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीमा देखिएको छ । त्यस्तो स्थितिको कल्पना गर्न सकिँदैन ।’

महामन्त्री शर्माले एमालेका अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएको बताउँदै संसद अवरोध गर्ने निर्णयप्रति आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।

एमालेलाई राष्ट्रिय समस्याका विषयमा छलफल गर्न बोलाउँदा बैठक बहिस्कार गर्ने गरेको बताएका शर्माले सहमति र सहकार्यमा आउन सुझाव दिए ।

उनले भने, ‘ओलीजी प्रधानमन्त्री भएको बेला कांग्रेसका सभापति शेरबहादुर देउवा सबै बैठकमा आलोचना सहेर भएपनि जानुभएको छ ।’

महामन्त्री शर्माले सत्तारुढ दलहरूको गठबन्धनका विषयमा कांग्रेसले ठीक समयमा उपयुक्त निर्णय लिने बताएका छन् ।

शेखर कोइरालालाई पछाडि राखेर वरीयता बनाएको विषयमा सोधिएको जिज्ञासामा शर्माले शेखरलाई केन्द्रीय सदस्यहरूको सबैभन्दा अगाडि पहिलो नम्बरमा राखिएको बताए ।

‘पदाधिकारी, पूर्वपदाधिकारीको कुरा फरक भयो । शेखर कोइरालालाई केन्द्रीय सदस्यहरूको एक नम्बरमा राखिएको छ’, महामन्त्री शर्माले भने, ‘सभापतिले सबैलाई मिलाएर जान्छु भन्नुभएको छ ।’

उनले भने, ‘३० जना मनोनीत गर्ने ठाउँमा १३ जना मात्र मनोनीत गर्नुभएको छ । उहाँलाई भोट नहालेका प्रतिस्पर्धी समूहमा रहेकाहरूलाई पनि मनोनीत गर्नुभएको छ ।’

Published : Thursday, 2022 January 6, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया