शेखर–गगनले महाधिवेशनमा बोलेको कुराको मसी सुक्न दिएनन्, कसले दियो महँगो होटेलको पैसा ?

काठमाडौं । नेपाली कांग्रेसमा गुट र भागबण्डाको राजनीति अन्त्यको नारा लगाएर १४औँ महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएको शेखर कोइरालाको समूहले गुटको भेला राखेर बबण्डर मच्चाएको छ ।

सभापतिमा पराजित भएका शेखरले बुधबार काठमाडौंको बबरमहलस्थित चारतारे बुटिक होटेल बसेरामा गुटका नेताहरूको भेला राखेर सभापति शेरबहादुर देउवाविरुद्ध रणनीति बनाएका छन् । शेखरले भाग नदिएको देखि पार्टीका वरिष्ठ नेताहरूभन्दा अगाडि आफूलाई नराखेमा असन्तुष्टि जनाए ।

भेलामा सभापति देउवाले शेखरको समूहबाट पराजित भएका नेताहरूलाई केन्द्रीय सदस्यमा भागबण्डाअनुसार मनोयन गर्नुपर्ने माग पनि उठेको छ ।

महाधिवेशनमा गुट र भागबण्डाको राजनीति अन्त्य गर्ने भनेर बोलेको कुराको मसी सुक्न नपाउँदै शेखर–गगनहरूले भाग बण्डा र गुटको राजनीति शुरु गरेर सबैलाई चकित तुल्याइदिएका छन् । उनीहरू बोलेको कुरामा अडिग रहन सकेनन् ।

चन्द्र भण्डारी, मीनेन्द्र रिजालसहितका पराजित भएका हरुवा नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने शेखर समूहको माग छ ।

महामन्त्री गगनकुमार थापाले बागमती प्रदेशमा सरकार बनाउने क्रममा आफूहरूलाई भाग नदिएको बताएका छन् । उनले १६ जिल्लाको महाधिवेशन स्थगित हुँदा सरसल्लाह नगरेको पनि बताएका छन् ।

महामन्त्री थापाले आफूहरूसँग ४० प्रतिशत रहेको भन्दै पार्टीमा भाग माग गरेका हुन् ।

भेलापछि पत्रकारसँग कुरा गर्दै चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनयन गर्दा विभेद गरेको भन्दै असन्तुष्टि जनाए ।

उनले शेखर कोइरालाको समूहबाट पराजित भएकालाई पनि केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेका छन् ।

नेता भण्डारीले भने, ‘हाम्रो विश्वविद्यालयको प्रध्यापक शेरबहादुर देउवा हो । उहाँ नै प्रश्न पत्र बनाउन । उहाँले नै कापी जाँज गर्ने । उहाँलाई नम्बर दिने अधिकार छैन ।’

महाधिवेशनमा शेखर कोइरालाको समूह किन पराजित भयो भनेर समीक्षा भएको भण्डारीले बताएका छन् । उनले आगामी दिनमा सभापति देउवालाई मनपरी रुपमा अगाडि बढ्न नदिने चेतावनी दिएका छन् ।

पत्रकारहरूले जितेकोले पार्टी चलाउने र पराजित भएकोले सहयोग गर्ने परम्परा रहेको भन्दै ‘पुच्छरले शरीर हल्लाउन खोजेको जस्तो देखियो नि’ भनेर सोधिएको जिज्ञासामा नेता भण्डारीले गोलमटोल जवाफ दिएर गएका थिए ।

गुटको भेलामा शेखर कोइराला, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, सरिता प्रसाइँ, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, दीपक गिरी, मीनेन्द्र रिजाल, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी, प्रकाश रसाइली, प्रतिमा गौतमलगायतका नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । करीव ७० जनाको उपस्थिति रहेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शशांक कोइराला, सुजाता कोइरालालगायतका नेताहरू अनुपस्थित रहेका थिए ।

बबरमहलमा रहेको बुटिक बसेरा निकै महँगो मानिन्छ । शेखरको गुटको भेलामा करीव ५ लाख खर्च भएको नेताहरूको अनुमान छ । यो रकम कसले तिरेको हो केही खुलेको छैन ।

Published : Wednesday, 2022 January 5, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया