नेपालले एमसीसी लिनुपर्छ, नोक्सान देख्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूलाई दोस्रो वरीयता नदिएकोमा रिसाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्तामा कोइरालाले आफूलाई दोस्रो वरीयतामा राख्नुपर्ने घुमाउरो भाषामा बताए ।

नेता कोइरालाले केन्द्रीय सदस्यमा मनोनीत १० जनाको विषयमा असन्तुष्टि जनाएका छन् । दश जनामध्ये ५ जना पराजितहरूलाई केन्द्रीय सदस्य बनाएको भन्दै असन्तुष्टि जनाए ।

केन्द्रीय सदस्यमा मनोनीत गरेर सभापति शेरबहादुर देउवाले गुटको विजारोपण गरेको आरोप लगाए । उनले चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, महेश आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने माग गरेका छन् ।

रामचन्द्र पौडेल, शशांक कोइराला र सुजाता कोइरालाका कारण आफू सभापतिमा पराजित भएको उनले बताएका छन् । उनले भने, ‘मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिन । पराजित भएँ । मेरो भाइ र बहिनीले वीपी कोइरालाले मेरो बुबा केशव कोइरालालाई पठाएको पत्रको मर्म बुझेनन् ।’

नेता कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा टिकट वितरण गर्न पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । उनले घुमाउरो भाषामा राष्ट्रिय सभाको निर्वाचनमा भाग खोजेका छन् ।

प्रदेश नं. २ को अधिवेशनमा आफ्नो समूहका नेताहरूलाई बुझाउन नसक्दा विमलेन्द्र निधिको सभापतिको उम्मेदवारलाई साथ दिएको कोइरालाले बताएका छन् । उनले भने, ‘मैले मेरा नेताहरूलाई मनाउन सकिन । विमलेन्द्र निधिजीको सभापतिको उम्मेदवार रामसरोज यादवजीलाई समर्थन गरेका हौँ ।’

नेता कोइरालाले सभापति देउवालाई विधिसम्मत काम गर्नुपर्ने बताएका छन् ।

एमसीसीका विषयमा कोइरालाले पूरै कुरा नपढेको बताएका छन् । उनले एमसीसीलाई लिएर अगाडि बढ्दा नेपालाई नोक्सान नहुने बताए ।

नेता कोइरालाले मंगोलियाले पनि एमसीसी लिएको भन्दै नेपालले पनि एमसीसी लिनुपर्ने बताएका छन् ।

Published : Sunday, 2022 January 2, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया