१५ वटा जहाज किन्ने मन्त्री आलेको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कम्तिमा १५ वटा जहाज खरिद गर्ने तयारी गरेको छ ।

जहाज खरिदका लागि विजनेश प्लान बनाउन नेपाल वायु सेवा निगमका अध्यक्षलाई निर्देशन दिएको पर्यटनमन्त्री प्रेमबहादुर आले बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्न लागेको बताएका हुन् ।

आलेले १५ वटा जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । आलेले जहाज खरिदमा कुनैपनि प्रकारको कमिसनको खेल नगर्ने बताएका छन् ।

अनियमितता भएमा आफू झुण्डिन तयार रहेको मन्त्री आलेले बताएका छन् ।

‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु’, आलेले भने, ‘तपाईहरू छिटोभन्दा छिटो बिजनेश प्लान ल्याएर कम्तिमा १५ वटा जहाजजति खरिद गरेर ल्याउने । एयरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्ने ।’

उनले भनेका छन्, ‘विगतको जस्तो यो वाइडबडी होइन । यसमा कुनै कमिसनको खेल भएको छैन ।’

मन्त्री आलेले ग्राउन्डेड भएको जहाज बनाएर उडाउन निर्देशन समेत दिएका छन् । उनले भने, ‘मर्मत गरेर उडाउनुस् भनेर मैले भनिराखेको छु ।’

Published : Saturday, 2022 January 1, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया