२२ वर्षीया युवतीसँगै पक्राउ परेका लाहुरेको ग्याङले पुसको चिसो खाने

पोखरा । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका आशिष राना ‘लाहुरे’सहितका चार जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रानासहितका चार जना बुधबार साँझ ७ बजे पोखराको जाल्पारोडबाट पक्राउ परेका थिए । पक्राउ परेका राना र्‍यापर हुन् ।

लागूऔषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले रानासहितका युवालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

पोखराको सभागृह नजिकै रहेको सुस्मिता गुरुङको कोठाभित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागूऔषध ब्राउनसुगर १२.५० ग्राम फेला परेको छ ।

प्रहरीले १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद रु.३८,३५०।– रुपियाँ, मोवाईल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय ‘लाहुरे’ भन्ने आशिष राना, पोखरा–२१ घर भई हाल छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका–७ घर भई बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–६ घर भई हाल पोखराको सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ रहेका छन् ।

Published : Friday, 2021 December 31, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया