अबको चुनावमा कांग्रेसलाई ठूलो पार्टी बनाउने : केन्द्रीय सदस्य खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले सबै मिलेर कांग्रेसलाई ठूलो र प्रिय पार्टी बनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमार शुक्रबार ओखलढुंगा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले आगामी चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताए । उनले कांग्रेसले हार्दा देशले नै हारेको भन्दै महाधिवेशनको तिक्तताहरू भुलेर मिलेर जानुपर्ने बताए ।

केन्द्रीय सदस्य खतिवडाले भने, ‘नेपालमा कम्युनिस्टले दुईतिहाइको बहुमत ल्याएर शासन चलाउँछन् भन्ने परिकल्पना वीपीको थिएन ।’

‘वीपी हामीबीच नरहेको ४० वर्षपछि कांग्रेस रहँदा–रहँदै कम्युनिस्टहरू दुईतिहाइसहित सत्तामा पुगे’, खतिवडाले भनेका छन्, ‘यो निकै चिन्ताको विषय हो ।’

‘महाधिवेशनका बेला हामीले टिम बनायौँ होला’, उनले भने, ‘सबै भुलेर कांग्रेसलाई जिताउने कुरामा केन्द्रित हुनुपर्छ ।’

खतिवडाले भने, ‘आगामी चुनावमा कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउनुपर्छ । लक्ष्य त्यही हुनुपर्छ ।’

उनले भनेका छन्, ‘संकुचित राजनीति गर्ने होइन । एकताको सन्देश दिएर जानुपर्छ ।’

‘कम्युनिस्ट अरु बेला झगडा गर्छन् । चुनावको बला मिल्छन्’, उनले भने, ‘कांग्रेस अरु बेला मिल्छन् । चुनावका बेला मिल्दैनन् । भोट अन्तै हाल्छन् ।’

‘चुनावमा टिकट लिनका लागि सबैले प्रयास गर्छन्’, खतिवडाले भने, ‘टिकट पाएका दिन त्यो नेतालाई जिताउन हामी सबै मिलेर लाग्छुपर्छ ।’

नेता खतिवडाले कांग्रेसको केन्द्रीय नेतृत्वमा १४औँ महाधिवेशनले समावेशी नेतृत्व दिएको बताएका छन् ।

एमालेले भ्रष्टाचार र गण्डागर्दी रोक्छु भनेर दिएका अभिव्यक्तिले ब्याङ्ग्य गरिरहेको उनको भनाइ छ ।

‘गोकुल बास्कोटाले भ्रष्टाचार अन्त्य गर्ने, महेश बस्नेतले गुण्डागर्दी अन्त्य गर्ने, दुर्गा प्रसाइँले स्वास्थ्यमा सुधार गर्ने रे । हामी लज्जित भएका छौँ’, कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले भनेका छन् ।

कार्यक्रममा पार्टी सभापति तेजेन्द्र खनाल, केन्द्रीय सदस्य प्रदीप सुनुवार, पूर्व सभापति महेश कोर्मोचा, प्रदेश सांसद कुमार लुइटेल र सविता राई, नेताहरू बालकृष्ण दाहाल, नवराज केसी, अजय लुइँटेल, राजकुमार ढुंगाना, उज्वल बुढाथोकी, रुद्र अधिकारी, अशोक कार्कीलगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 December 31, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया