वीपीलाई स्मरण गर्दै देउवाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार देउवाले शुभकामना सन्देश जारी गरेर वीपीले देखाएको मार्गस्मरण गरेका हुन् ।

उनले भनेका छन्, ‘कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको दिन हो— पुस १६ गते ।’

‘वीपी कोइराला २०३३ साल पुष १६ गते तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरि ज्याननै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गर्नु भएको थियो’, देउवाले भनेका छन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व छ’, उनले भनेका छन् ।

सभापतिस देउवाले भनेका छन्, ‘यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ ।’

‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ’, उनले भनेका छन् ।

‘कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ’, उनले भने, ‘यो दिवसले राजनीतिक दलहरूलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।’

Published : Friday, 2021 December 31, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया