लेकसाइड रातिभरि खोल्न गृह मन्त्रीको प्रस्ताव, तमु ल्होसारमा भव्य स्वागत (तस्वीर)

पोखरा । गृहमन्त्री बालकृष्ण खाणले एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका छन् ।

बिहीबार पोखरामा २३औं सडक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खाणले निरन्तर सदन अवरुद्ध हुँदा जनप्रतिनिधिको अधिकार खोसिएको बताए । उनले भने, ‘सदनमा देखिएको अवरोधबारे गम्भीर बहस गरौं, बहस गर्न संघीय संसद हुनुपर्‍यो ।’

उनले अहिले पनि केही दल र समूहहरू छिटफुट रुपमा हतियार प्रयोग गर्ने मानसिकता रहेको उल्लेख गरेका छन् । सबै समूहलाई वार्तामा आउन खाणले आग्रह पनि गरेका छन् ।

गृहमन्त्री खाणले स्थानीयवासीको अवरोधकै कारण फेवातालको मापदण्ड कार्यान्वयमा आउन नसकेको बताएका छन् ।

फेवाताल सिमाङ्कन तथा मापदण्ड निर्धारण समितिले सरकारलाई प्रतिवेदन बुझाएको तर कार्यान्वयनमा नआएको गुनासो व्यवसायीहरूले गरेका थिए ।

गृहमन्त्री खाणले भनेका छन्, ‘प्रतिवेदनहरू कार्यान्वयन गर्ने प्रतिवद्धता गरोस् भन्नुभएको छ, सरकार ताल संरक्षणमा प्रतिवद्ध छ, प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा मञ्चमा आएर बोल्नेहरूले साथ दिनुहोस् ।’

‘कार्यान्वयन गर्ने भन्ने तर खुसुखुसु यस्तो हुन्छ भन्ने थाहा थिएन भन्ने हैन’, उनले भने, ‘कार्यान्वयन गर भन्नुभयो भने फर्केर प्रारम्भ गर्छु । ठूला नेता आउने, मलाई कुन होटलमा राख्नुभएको छ थाहा छैन ठूला नेतालाई ल्याउने, प्रतिवेदनभित्र, फेवातालको सिमांकनभित्रै भएको होटलमै राखिदिने, नेतालाई भाषण गर्न लगाउने, ठूला नेताले उद्घाटन–समुद्घाटन पूर्व नै नेता हिँडे पनि भित्तामा प्लेट राखिदिने ।’

गृहमन्त्री खाणले पोखराका होटल रेष्टुराँहरू २४सै घण्टा खुलोस् भन्ने आफ्नो चाहना भएको बताएका छन् ।

होटल र रेष्टुराँले शान्ति सुरक्षामा खलल पु¥याउन नहुने उनको भनाई छ ।

उनले करको दायरामा आएका होटल र रेष्टुराँलाई २४सै घण्टा खोल्ने वातावरण बनाउन प्रशासनलाई निर्देशन पनि दिएका छन् ।

पोखरामा आजबाट सडक महोत्सव सुरु भएको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई लक्षित गरी महोत्सव सुरु भएको हो ।

‘सडकमै खाऊँ, सडकमै रमाऔँ’ भन्ने नारासहित रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले महोत्सवको आयोजना गरेको छ ।

महोत्सव ३ दिनसम्म चल्नेछ । पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उदेश्यले महोत्सव आयोजना गरिएको संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए ।

महोत्सव खाना र संस्कृतिको मिश्रण भएको बताउँदै भट्टराईले लेकसाइडमा संसारभरका खानाका परिकार पाक्ने बताएका छन् ।

गृहमन्त्री खाण पोखरामा भएका अन्य विभिन्न कार्यक्रमहरूमा पनि सहभागी भएको कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

खाणले गुरुङ समुदायको तमु ल्होसारदेखि पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । कार्यक्रमहरूमा खाणको भव्य स्वागत भएको छ ।

कार्यक्रमहरूमा कांग्रेसका नेता कार्यकर्ताका साथै केन्द्रीय सदस्य बहादुरसिंह लामा, गण्डकी प्रदेशका मन्त्रीहरू लगायतको पनि उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 December 30, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया